logo
२०८१ मंसिर १२ बुधवार



तिहार लाग्यो मादल किन्नेको घुँइचो

प्रदेश |


तिहार लाग्यो मादल किन्नेको घुँइचो



ध्यान कुलुङ
सङखुवासभा, कातिक ८ गते ।तिहार सुरु भएसँगै सङ्खुवासभामा मादलको माग अत्याधिक बढेको छ । अन्य समयमा खोजी निधो समेत नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरुको घुईचो लागेको छ ।
अरु बेला मादल नपाईने खाँदबारी बजारमा अहिले चोक चोकमा खरिद विक्रिको लागि राखिएको छ ।

गाउँगाउँबाट मादल खरिद गर्नकै लागि खाँदबारी बजार आउनेहरुले आफु अनुकुलको छानेर लैजाने गरेका छन् । देउसी खेल्नको लागि मादल अनिबार्य भएकोले तिहारको समयमा यसको माग बढेको हो । तिहारकै समयमा बेच्नको लागि महिनौ लगाएर मादल बनाउनेहरुले धमाधम विक्रि गरिरहेका छन् । जिल्लाको खाँदबारी बजारमा नयाँ मादल किन्नेहरु मात्र नभएर मर्मतको लागि समेत पुरानो मादल लिएर आउनेको संख्या उत्तिकै छ ।

मुख्य गरि बुधबार र शनिबार लाग्ने साप्ताहिक बजारको दिन बढि मादल विक्रि हुँदै आएको छ । उक्त दिन मादल किन्नकै लागि गाउँबाट मानिसहरु आउने गर्छन । यसरी बजार लागेको दिन झण्डै हजार वटासम्म मादल विक्रि हुने गरेको ब्यापारिहरु बताउछन् । महिनौ लगाएर खोपेको मादल हप्ता दिनमा नै विक्रि हुँदा मादल ब्यावसायीहरु मक्ख छन् । मादलको मुल्य गुणस्तरको आधारमा निर्धारण गरिएको हुन्छ । न्युनतम ३ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्ममा मादल विक्रि हुँदै आएको मादल ब्यापारिहरु बताउछन् । खाँदबारी बजारमा भोजपुरको दिंला, चम्पे, झ्याउपोखरी लगायतबाट बढी मादल विक्रि गर्न ल्याउछन् ।
मादल ब्यावायीहरुका अनुसार तिहार सकिएदेखि नै अर्को बर्षको तिहारमा विक्रि गर्ने गरि मादल निर्माण गर्न थाल्छन् । यसरी तयार भएको मादल तिहारको समयमा खाँदबारी बजारमा विक्रि गर्न ल्याउने गरेको खाँदबारी ८ पिप्लेका गजनाथ खनालले बताउनुभयो । अन्य समयमा काठ खोप्ने र तिहार आउने महिनादिन अघिदेखि बाख्राको छाला राखेर तन्काउने गर्छन् । छालाकै डोरीले तन्काएपछि दुवै तर्फ खरी लगाएर मादल तयार हुन्छ र बजारमा विक्रि गर्न ल्याउछन् ।

एउटा मादल तयार गर्न करिव १० दिन लाग्ने मादल ब्यावसायीहरु बताउछन् । काठ खोपेर ढुङ्ग्रो बनाउनु पर्ने भएकोले अत्याधिक मेहेनत र समय लाग्ने भोजपुरबाट मादल बेच्न खाँदबारी आउनुभएका जीनबहादुर भुजेलले जानकरी दिनुभयो । मादल बनाउन निक्कै मेहेनत पर्ने भएपनि बजार मुल्य भने चित्त बुझ्दो नरहेको भुजेलको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?