अर्जुन काफ्ले
स्याङ्जा, कार्तिक १४ गते । गल्याङ नगरपालिकाको बिभिन्न ठाउँमा लगाईएको बेमौसमी मकै खेतिमा लागेको फौजी कीरा नियन्त्रणमा ल्याईएको छ ।
यहाँका वडा नम्वर १, २, ६, ७ ८, ९ र ११ को मकैमा लागेको फौजी कीरालाई विषादी छर्किएर नियन्त्रणमा ल्याईएको हो । केहि समय अघि फौजीको आक्रमणका बारेमा जानकारी पाएपछि नगरपालिकाको कृषि शाखा प्रमुख सहितको टोलीले स्थलगत अनुगमन गरी फौजी नियन्त्रणमा ल्याएको हो ।
इमानेटिन डेन्जोईट नामक विषादी छर्केर फौजी कीरा नियन्त्रणमा ल्याईएको कृषि शाखा प्रमुख शिव ढकालले बताउनुभयो । गोडमेल गर्ने अवस्थामा आएको मकै खेतिमा फौजी कीरा पूर्णरूपमा नियन्त्रण आएको कृषि प्रमुख ढकाले जानकारी दिनुभयो ।
साना मकैमा नगरपालिकाको कृषि शाखा र स्थानीयको सक्रियतामा पुर्ण रुपमा फौजी कीरालाई नियन्त्रण ल्याइएको हो । यहाँ लगाईएका मध्ये ७ रोपनी क्षेत्रफलका मकैमा अमेरिकी फौजी कीराको प्रकोप देखिएको बताउदै ढकालले मकैका पात तथा डाँठहरु फौजी कीराले निकै मन पराउने हुनाले आक्रमण गरेको बताउनुभयो ।
धानचमरा निकाल्ने प्रक्रियामा रहेका ठुला मकैमा समेत ७५ प्रतिशत नियन्त्रणमा ल्याएको बताउदै ढकालले इमानेटिन नामक विषादी पानीमा घोलेर संक्रमित मकैमा छरिएको बताउनुभयो ।
बढी ग्रसित मकैखेतिमा नगरपालिकाको कृषि शाखाले विषादी उपलब्ध गराएको थियो भने कम प्रभावित स्थानहरुमा कृषकहरु आँफैले किनेर विषादी छर्केका हुन् ।
तत्कालका लागी विषादी छर्किएपनि दिर्घकालिन समयमा लागी भने नगरपालिकाले जैविक उपाय अपनाउने भएको छ । मकै खेति गरिएको छेउ–छेउमा नेपियर जातका घाँस र बीच भागमा डेस्मोटियम नामको घाँसको विरुवा लगाउने छ ।
नेपियर घाँस फौजीले रुचाउने हुँदा त्यही घाँसमै रहेर मकैलाई आक्रमण नगर्ने बताउदै ढकालले डेस्मोटियम घाँसको गन्धले फौजी मकैमा नआउने दाबी गर्नुभयो । यहाँका किसानहरुले केहिले नगरपालिकाबाट प्राप्त हाईब्रिड जातका विउ छरेका थिए भने केहिले स्थानीय जातका मकै नै बारीमा छरेका थिए । गल्याङ नगरपालिकाले बेमौसमी मकै बजारमा ल्याउने र किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बेमौसमी मकैको बिउ वितरण गरेको थियो ।