सुरेन्द्र खत्री–रुकुम समाचारदाता
रुकुम (पश्चिम), कात्तिक १९ गते । जिल्लाको पूरानो योजनाको रुपमा रहेको मुसिकोट–चुनवाङ सडक अन्तर्गत शीतलपोखरी–तिलाडाँडा खण्डको स्तरोन्नतिको काममा ढिलाई भएको छ । गत आर्थिक वर्षमा स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम सुरु भएपनि निर्माण स्तरोन्नतिको काममा ढिलाई भएको हो ।
सडक निर्माणको काम अव्यवस्थित भएर गाउँका घरहरुमा क्षति पुगेपछि मुसीकोट नगरपालिका –९ होलताराका स्थानीयले समेत सडक स्तरोन्नतिको काममा अवरोध गरेपछि काममा थप ढिलाई भएको हो । सडक निर्माणका क्रममा झरेको पहिरोले गाउँ तथा स्वास्थ्यचौकी जोखिममा परेको भन्दै त्यसको दिगो समाधान गर्नुपर्ने माग सहित स्थानीयले अवरोध कायमै राखेका छन् ।
स्तरोन्नतिका क्रममा ठूलो पहिरो गएकाले त्यसमा जाली लगाउनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने स्थानीयले माग गरेको वडाध्यक्ष नवीन ओलीले बताउनुभयो ।
मुसीकोट नगरपालिका ४, ६, ७, ९ र १० सम्मको १८ किलोमीटर सडक आस्फाल्ट कंक्रिट गर्ने गरी पीएच र शंकरमाली निर्माण सेवालाई जिम्मा दिइएको छ । आस्फाल्ट कंक्रिटअन्तर्गत ३० एमएम बाक्लो पिच गर्नेगरी ठेकेदार कम्पनी र ग्रामिण सडक सञ्जाल सुधार आयोजना बीच सम्झौता भएको थियो । विभिन्न कारणले वर्षाअघि रोकिएको काम अझै सुचारु हुन नसकेको आयोजना प्रमुख, डिभिजन इन्जिनियर गौरीकुमार श्रेष्ठले बताउनुभयो । समस्या समाधानका लागि प्रयास गरिरहेको र केही दिनमै सडक स्तरोन्नतिको काम सुरु हुने उहाँको भनाइ छ ।
ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माणमा ढिलाइ भइरहेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार ठेकेदार कम्पनीले भुक्तानी नदिँदा सडक निर्माणमा संलग्न कामदारले ज्याला पाउन सकेका छैनन् । ठेकेदार कम्पनीले भने ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले नै भुक्तानी नदिएपछि समस्या भएको जनाएको छ । एकवर्ष अघि काम सुरु भएको यस योजनामा वर्षात सुरु हुनुअघि नै सडकमा कटिङ, तारजाली, ग्याबिन तथा फुक्का पर्खाल लगायत ग्राभेलको काम सक्नुपर्ने भएपनि आधा काम सकिनुपर्ने बेलासम्म २० प्रतिशत काम भएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । निर्माणलाई तीव्र बनाउन ५ खण्ड बनाएर काम सुरु गरिएको उहाँको भनाइ छ ।
यस सडकको ठाँटीखोलादेखि तिलाडाँडासम्मको खण्डमा भने अझैपनि काम सुरु हुन सकेको छैन । विभिन्न खण्डमा काम गरेका मजदुरलाई ज्याला नदिएपछि काम प्रभावित भएको आयोजनाले जनाएको छ । २ वर्षमा काम सक्ने भन्दै निर्माण कम्पनीले भ्याटबाहेक ४८ करोड ९४ लाख रुपैयाँमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । यस योजना अन्तर्गत स्तरोन्नति हुने उक्त सडक प्राविधिक हिसाबले उच्च गुणस्तरीय र प्राविधिक हिसाबले महँगो भएको बताइएको छ ।