logo
२०८१ मंसिर ११ मंगलवार



सीमाक्षेत्र अतिक्रमण : दशगजामै बजार र खेतीपाती

प्रदेश |


सीमाक्षेत्र अतिक्रमण : दशगजामै बजार र खेतीपाती


जनार्जन खत्री
सीमरा फेनरा (सर्लाही) । कात्तिक २९ गते । सर्लाहीमा नेपाल–भारत सीमा स्थित दशगजामै बजार र खेतीपाती भइरहेको छ ।
दशगजा क्षेत्र दुवै देशका नागरिकले अतिक्रमण गरिरहेका छन् । सर्लाहीमा ४६ किलोमिटर लामो भारतीय सीमास्थित अधिकांश दशगजा क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । कतै सीमा स्तम्भ नै हराएको छ भने कतै खेतीपातीले छोपिएको अवस्था देखिन्छ ।
दशगजा क्षेत्र जसलाई नो म्यान्स जोन पनि भनिन्छ त्यसैले सो क्षेत्रमा मान्छेको बसोवास गर्न नमिल्ने अन्तराष्ट्रिय मान्यता रहे पनि भारतीय सिमा स्थित दुवै देश ओहोरदोहोर हुने प्रायः सबै नाकाहरुमा बजार नै स्थापना भइसकेका छन् भने कतिपय स्थानमा खेतीपाती भइरहेको छ ।
विष्णु गाउँपालिका अन्तर्गत सिमरा फेनरा नाकामा भारतीय नागरिकले दशगजाको बीचमा हुने पिलर नै नाघेर नेपालतर्फ पसलको कठघेराहरु बनाएका छन् । त्यस्तै बलरा नगरपालिका अन्तर्गत बसबिट्टा नाकामा पनि दशगजाको बीचमा हुने ठूलो पिलरसँगै टाँसिएर घर टहरा बनाएर दुवैतर्फका नागरिकले बासोवास एवं व्यापार व्यवसाय गरिरहेका छन् ।
अर्नाह गाउँस्थित दशगजामा भने नेपाली नागरिकले खेतपाती गरेका छन् भने परालको टाल राख्ने र चौपाय बाध्ने गरिरहेका छन् । खेतपातीका कारण साना पिलर नै छोपिएर देखिन छाडेको छ । खोलाले छुट्टायाएको बाहेक स्थानमा दुवै तर्फका नागरिकले दशगजामा अतिक्रमण गरेका छन् ।
सीमा स्थित दशगजाको सुरक्षा होस् वा छिमेकी देशले सीमा मिचेको विषयमा नेपाल सरकारले उचित ध्यान नदिएको पूर्व प्रधानाध्यापक एवं नेपाल मानव अधिकार सङ्गठन सर्लाहीका अध्यक्ष रजनीकान्त झाले बताउनुभयो । जनताले मत दिएर मुलुक चलाउने जिम्मा दिएको सरकारले सीमा सुरक्षाका विषयमा सामान्य ध्यान समेत नदिएको झाले बताउनुभयो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सर्लाहीस्थित सीमा क्षेत्र भारततर्फबाट वा नेपाल तर्फबाट नमिचिएको बताउनुभयो । नागरिक स्तरबाट दशगजा अतिक्रमणबारे आफूलाई थाहा नभएको र त्यसो भए भारतीय अधिकारीहरुसँग कुरा गरेर समस्या समाधान गर्न सकिने प्रमुख जिल्ला अधिकारी जिसीको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार सर्लाहीमा मुख्य, सहायक र सानो गरी ३३९ वटा पिलर हुनुपर्ने छ । तर हाल तीन सय वटा मात्रै पिलर रहेको छ । निर्माण भएको ठाउँबाट दुई वटा हराएको छ भने ३२ वटा कहाँ निर्माण भएको थियो भन्ने फेला नै नपरेको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो । त्यस्तै पाँच ठाउँमा निर्माण हुनुपर्ने पिलर हालसम्म निर्माण नै नभएको समेत उहाँले बताउनुभयो । भएका पिलरमध्ये २३९ वटालाई मर्मत गर्नुपर्ने तथा ३१ वटालाई पुनः निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?