logo
२०८१ मंसिर ११ मंगलवार



जग्गा विवादले अलमलियो जिलु एकिकृत बस्ती

प्रदेश |


जग्गा विवादले अलमलियो जिलु एकिकृत बस्ती


कैलाश लामा
चरिकोट, दोलखा मङ्सिर २ गते । जग्गा सम्बन्धी कानुनी झन्जटका कारण भीमेश्वर नगरपालिका वडा नम्बर–४ जिलुका स्थानियले सुरु गरेका एकिकृत वस्ति अझै बन्न सकेको छैन ।
२०७२ सालको भूकम्प पछि एकिकृत वस्तिको सपना देखेका डिही र फसीभुँई टोलका स्थानीयले सुरु गरेका एकिकृत वस्तिको जग्गा रजिष्ट्रेशन पासमा कानुनी जटिलता देखिएसंगै एकिकृत वस्ति निर्माण कार्य बीचमै अलपत्र परेको हो । स्थानीयको पहल र सरकारले सघाउने सहमतिमा अघि बढेको वस्ति निर्माणको काम रोकिएपछि भूकम्प पीडित स्थानीय अझै टहरामै बस्न बाध्य छन् ।
वस्ति निर्माणका लागि पूर्वाधार निर्माणको कामतर्फ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फसीभुँईमा कारव ९० प्रतिशत र डिहिमा ३० प्रसतशत काम सम्पन्न गरेको छ ।
फसीभुँईमा आवश्यक पूर्वाधार तयार भइसकेको र जग्गा प्लटिङ गरी ब्यक्तिको नाममा लालपूर्जा ल्याएर घर बनाउने प्रक्रिया सुरु गर्ने तहमा पुगेको भए पनि राजश्व सम्बन्धि समस्याले थप काम अगाडि बढ्न नसकेको जिलु एकिकृत वस्ति निर्माण समितिका अध्यक्ष अर्जुन चौलागाईले बताउनुभयो ।
उहाँले ब्यक्तिका नाममा रहेको जग्गा कसैको धेरै, कसैको थोरै रहेको र त्यसलाई एकिकृत गरी पुनः घर निर्माण गर्न भूकम्प पीडितको नाममा बराबरी पास गरी लालपुर्जा दिनुपर्नेमा उक्त प्रक्रियाको लागि राजश्वको समस्या देखिएको बताउनुभयो ।
बिभिन्न व्यक्तिको नाममा रहेको जग्गा एकिकृत गरी पुनः एकिकृत वस्तिमा घर बनाउन भूकम्प पीडितको नाममा पास गर्दा झण्डै आठ लाख रुपियाँ राजश्व लाग्ने भएपछि समस्या देखिएको उल्लेख गर्दै अध्यक्ष चौलागाईंले उक्त रकम मिनाह गरी सहज ढङ्गले भूकम्प पीडितको नाममा लालपुर्जा दिनुपर्ने माग गरेको बताउनुभयो ।
त्यसैगरी डिहीमा भने बजेट अभावका कारण ३० प्रतिशत मात्रै काम सकिएको छ। थप पुर्वाधार विकासका लागि बजेट अभाब भएको र भौगोलिक कारणले उक्त वस्तिको डिजाइनमा समेत समस्या रहेको उल्लेख गदै भीमेश्वर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष समेत रहेका स्थानीय हरिबंश चौलागाइले नर्माण भइसकेको संरचनामा सुधार गरेर आधारभूत काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले जग्गा पास गर्दा लाग्ने राजश्वको समस्या समाधानको लागि प्रदेश सरकारसँग आग्रह गरिएको र छिट्टै प्रदेश सरकारले राजश्व मिनाहको लागि आवश्यक निर्णय गर्ने आस्वासन दिएको बताउनुभयो ।
वडा अध्यक्ष चौलागाईले प्रदेश सरकारले जग्गा रजिष्ट्रेशन पासको लागि लाग्ने राजश्व छुटको निर्णय नगरे पनि भीमेश्वर नगरपालिकाले उक्त रकम दिएर भए पनि छिट्टै काम सक्ने र ढिलोमा पुष महिनाबाट फसीभुँईमा एकिकृत वस्तिको काम सुरु हुने बताउनुभयो ।
पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यन्वयन इकाई भवनका प्रमुख अर्जुन तमाङका अनुसार एकिकृत वस्ति निर्माण भइरहेको फसिभुँईमा १ सय ८ घर र डिहिमा ७६ घर बन्ने छन् । त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पुर्ननिर्माण प्राधिकरणले हालसम्म सात करोड ३२ लाख खर्च गरिसकेको छ ।
फसिभुँई एकिकृति वस्तिमा हाल सडक, नाला र मेसिनरी तथा ग्याविन वाल लगाएर घडेरी निर्माण गरिएको छ । तर डिहिमा भने डिजाईन ठप्क नभएको भन्दै स्थानीयले गुनासो गरेपछि समस्या देखिएको छ ।
एकिकृत वस्तिको पूर्वाधार निर्माणमा अझै तीन करोड भन्दा बढी रकम खर्च हुने भएको उल्लेख गर्दै प्रमुख तमाङले त्यसको व्यवस्थापनको लागि पुर्ननिर्माण प्राधिकरण, प्रदेश सरकार र नगरपालिकामा समेत पहल भैरहेको बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?