कैलाश लामा
चरिकोट, मंसिर ४ गते । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर –८ बोच स्थित ठुल्नागीमा यात्रु वाहक बस दुर्घटना हुँदा एक वृद्धा महिलाको मृत्यु भएको छ ।
बुधबार दिउँसो साँढे १२ बजेको समयमा रोकिरहेको बा ३ ख २९९७ नम्बरको गौरीशंकर यातायातको बस एक्कासी पछाडि गुडेर पल्टिदाँ वैत्यश्वर–३ मिर्गेकी ७० वर्षीया कुमारी तामाङको ज्यान गएको हो ।
मिर्गेबाट साँढे ७ बजे यात्रु लिएर काठमाडौँ हिँडेको बसको बोचमा पुग्दा तेल सकिएको र सह–चालकलाई चरिकोटमा तेल लिन पठाएर सडक छेउमा रोकिराखेको बस एक्कासी पछाडि गुडेर सडकमै पल्टिएको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।
बस पछाडि गुड्दा दुईमहिने शिशुसहित चारजना यात्रु बस भित्रै रहेको र शिशुसहित तीनजना गुड्दागुड्दै बसबाट उत्रिए पनि वृद्धा महिला उत्रिन नसक्दा बसले च्यापिएर मृत्यु भएको हो ।
बसमा १० जना यात्रु रहे पनि चालकसहित अन्य बाहिरनै थिए । बसको पाङ्ग्रामा राम्रोसँग ओत नराखेकाले बस पछाडि ओरालोतर्फ गुडेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । बस दुर्घटना भए लगतै चालक र सहचालक भने फरार छन् । मृतकको शव बसले च्यापिएको अवस्थामा रहेको र आफन्त आएपछि मात्रै शव निकाल्ने दोलखा प्रहरीले बताएको छ ।