यादवराज पुरी
रौतहट, मंसिर ७ गते । व्यवसायिक प्रयोजनका लागि रौतहटको सदरमुकाम गौरमा एक दशकदेखि चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पु) चल्न रोक लगाइएको छ ।
उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जले गौर र भारतीय बजार बैरगनियाँ आवतजावत गर्ने व्यवसायीकरुपमा सञ्चालित भारतीय नम्बर प्लेटका टेम्पुमा रोक लगाएको हो ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर १६ लक्ष्मि मोटर्स प्रालीका प्रोपराइटर अरुण कुश्वाहाले सो स्थानमा चल्दै आएको तीन पाङ्ग्रे भारतीय टेम्पु सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर दायर गर्नु भएको थियो ।
प्रोपराइटर कुश्वाहाले मंसिर ३ गते निषेधाज्ञा परमादेशको लागि दायर गर्नु भएको मुद्दा नम्वर ०७६–डब्लु ओ–०१४२ माथि उच्च अदालत जनकपुरको अस्थायी इजलाशका न्यायाधिशद्वय सत्यमोहन जोशी थारु र विरबहादुर डाँगीको संयुक्त इजलाशले व्यवसायिक प्रयोजनका लागि सञ्चालित त्यस्ता तीन पाङ्ग्रे सवारीमा रोक लगाउने आदेश दिएको हो ।
व्यवसायिकरुपमा विदेशी नम्बर प्लेटका टेम्पुहरुको पार्किङ्ग गर्न र चलाउन यातायात व्यवस्था ऐन, २०४९ बमोजिम रोक लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट मिति २०७५ पुस ३ गते सुचना प्रकाशित गरिए अनुसार र आर्थिक ऐन २०७६ को अनुसुची १ को दफा १२ को उपदफा (ख) बमोजिम बाहेकको अवस्थामा विदेशी (भारतीय) नम्बर प्लेटका टेम्पुहरुलाई नेपाल सरहद (गौर) मा संचालन गर्न र रात्री पार्किङ्ग गर्न गराउन नदिनु भनि विपक्षीहरुको नाउमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिको छ ।
बिना भन्सार एक दशकदेखि सदरमुकाम गौरमा निर्वाधरुपमा चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) लाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको दायरामा ल्याउन सकेको थिएन ।
जिल्ला भन्सार कार्यालय गौरका अधिकृत आशुतोष राईकाअनुसार भारतकोे बैरगनियाँदेखि नेपालको सीमावर्ती क्षेत्र गौर बजारसम्म दैनीक ५० भन्दा बढी भारतीय नम्बर प्लेटका टेम्पोहरु एक दशकदेखि नै बिना भन्सार चलेका छन् । जसबाट लाखौं रुपियाँको सरकारी आय गुमिरहेको छ । दलीय सहमतिको आधारमा परम्परादेखि चल्दै आएको ती सवारीलाई भन्सारले चाहेर पनि रोक्न नसकेको अवस्थामा अदालतद्वारा नै रोक लगाउने आदेश आएपछि भन्सार कार्यालय विवादरहित बनेको छ ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेशकुमार सिन्हाले ०६६ चैत १३ गते आफ्नै अध्यक्षतामा सर्वदलीय बैठक राखी भारतीय टेम्पोहरुलाई बिना भन्सार, बिना रोकतोक यात्रुहरु ओसार पसार गर्न दिने भनी गरिएको निर्णय पश्चात निर्वाधरुमा चलेका ती सवारीलाई उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जले रोक लगाएपछि नेपाली टेम्पु व्यवसायीहरु हर्षित भएको गौरका टेम्पु चालक रघुवीर साह बताउनु हुन्छ ।
गौर नगरपालिकाका मेयर अजय गुप्ता भन्नुहुन्छ, “नेपाली नम्बर प्लेटका सवारी सीमा पारी जान नपाउने भएको कारणले यात्रुको सुविधाको लागि भारतीय नम्बर प्लेटको टेम्पो चलेको हो । व्यवसायीकरुपमा चलेका त्यस्ता सवारी भन्सार काटेरै चल्नु पथ्र्यो । जे होस् अदालतको आदेश स्वागतयोग्य छ ।” अादेशपत्र यस्ताे छ ।