logo
२०८१ मंसिर ९ आईतवार



गढीमाई मेलामा विद्यालय १० दिन बन्द हुने

प्रदेश |


गढीमाई मेलामा विद्यालय १० दिन बन्द हुने


शिवशंङ्कर मिश्र

बारा, मंसिर १० गते । गढीमाईको मेलालाई लक्षित गरेर बारा जिल्लाको सामुदायिक विद्यालय दश दिन बन्द हुने भएका छन् । 

महागढीमाई नगरपालिका वडा नम्बर–१ स्थित रहेको गढीमाईको मेलामा नेपाल तथा भारतबाट आउने असंख्य श्रद्धालु तथा भक्तजनहरुको बास बस्न र सुविधाको लागि नगरपालिका सहित जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले जानकारी दिनुभयो ।

समितिका संयोजक महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मंसिर १० गतेदेखि २० गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् ।

मेला मंसिर १ गतेदेखि एक महिना अर्थात् मंसिर ३० गतेसम्म लाग्ने गर्दछ । भौतिक पूर्वाधारका कारण विद्यालयमा नै सुरक्षाकर्मीहरुको व्यवस्थापन, स्वयंसेवक, परिचालन तथा मेलाका अन्य तयारी समेत विद्यालयमा नै गर्नुपर्ने बाध्यताका कारण विद्यालयमा बिदा दिनुपरेको मेयर यादवले बताउनुभयो ।

गढीमाई मेलामा करिब ७० लाख भन्दा बढी श्रद्धालु तथा भक्तजन आउने अनुमान रहेको मेला व्यवस्थापन मुल समितिका महासचिव मोतिलाल कुशवाहाले जानकारी दिनुभयो ।

जिल्लाका अलगअलग पालिकाको शैक्षिक कलेण्डर अनुसार परीक्षा सकिएपछि तथा गढीमाईको मेला सफल पार्न बर्षे विदाबाट कट्टागरी दश दिनको लागि विद्यालय बन्द गर्नु परेको जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख शशी यादवले बताउनुभयो ।

मेलामा भक्तजनहरुको सुरक्षाका लागि करिब एक हजार भन्दा बढी सुरक्षकर्मी परिचालन गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?