logo
२०८१ मंसिर ९ आईतवार



भरतपुर विमान स्थल दश दिन बन्द ! बैकल्पिक मेघौली एयरपोर्ट

प्रदेश |


भरतपुर विमान स्थल दश दिन बन्द ! बैकल्पिक मेघौली एयरपोर्ट


शालिग्राम नेपाल 

चितवन, मङसिर १३ गते । भरतपुर विमानस्थलको रनवे मर्मत गर्नको लागि आइतबारदेखि १० दिन बन्द हुने भएको छ ।

१६ वर्ष अगाडि कालोपत्रे गरेको सडकको सामान्य मर्मत बाहेक अन्य काम नभएपछि अहिले त्यसमा ओभरल्याप गर्न लागिएको हो । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयकाल प्रमुख पवन गौतमले भन्नु भयो - ‘सामान्य पिच टाल्ने काम भएको थियो, तर पुरै मर्मत भएको थिएन, लामोसमय भएकाले अहिले उडान बन्द गराएर काम गर्न थालिएको हो ।’

मङसिर १५ देखि २४ गतेसम्म विमानस्थल बन्द गराएर काम हुने उहाँले जानकारी दिनुभयो । विमानस्थल बन्द गराउदा विमान कम्पनी तथा अन्य निकायसँग सहमती गरिएको प्रमुख पवन गौतमले बताउनुभयो । प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने ‘नोटाम’ जारी गर्दैछ । यो जारी भएपछि विमान कम्पनी तथा चालकहरुलाई भरतपुर विमानस्थलमा काम भइरहेको र हाल बन्द रहेको सूचना जानकारी हुन्छ । गौतमले भन्नु भयो - ‘१० दिन बन्द गरेर करिब १२ सय मिटरको धावनमार्गमा ओभरले गछौं, पार्किङ पनि विस्तार गरेर सुविधायुक्त बनाउँछौं ।’

मुख्य धावनमार्गको दायाँ र बायाँको सबै भागमा काम सम्पन्न भइसकेको छ । निर्माणको ठेक्का पाएको कम्पनीले साँझ ६ बजेदेखि विहान ६ बजेसम्म काम गरेको प्रमुख गौतमले बताउनुभयो । मुख्य कालोपत्रे भागमा विमान बन्द नगराइ काम गर्न समस्या हुने भएपछि १० दिनको लागि समय छुट्टाएको उहाले बताउनुभयो ।

बुद्ध एयर भरतपुरका इन्चार्ज भक्त बस्नेतले भन्नु भयो ‘महिनौ दिनसम्म काम गर्नुपर्ने अवस्था आएकोले १० दिन बन्द गरेर भए पनि कामलाई तीब्रता दिदा स्वीकार्य हुने छ ।’ उहाले भन्नु भयो- ‘पहिला आधा फ्लाइट मात्रै गर्न सकिन्छ कि भनेर पनि सोचेको हो, तर बिहान मौसम नखुल्नाले समस्या भयो, त्यो भन्दा बरु बन्द नै गरेर काम गरौं भनेर सहमत भयो, यसबाट यात्रुलाई परेको असुविधाप्रति क्षमा माग्दै सूचना जारी गछौं ।’

यो विमान स्थलमा सन् २००२ मा कालोपत्रे गरिएको थियो । त्यसपछि भत्केको स्थानमा टाल्ने काम मात्र भएको कार्यालयले जानकारी दिएको छ । अहिले विमानस्थलको रनवे ठाउँ–ठाँउमा भत्किएको, कतै उप्किएको कारणले ओभरले गर्ने योजना बनाइएको प्रोजेक्ट इन्चार्ज हिमज्योति थापाले बताउनु भयो । जुगेडीमा रहेको प्लान्टबाट असफाल्ट ल्याउनुपर्दा स्थानीयले रातिमा ल्याउन नदिएका कारणले पनि समस्या भएको प्रोजेक्ट इन्चार्ज थापाले बताउनुभयो ।

विमानस्थल ओभरले गर्दा ६० एमएमको पिच हुनेछ । रातिको समयमा चिसो मौसम भएकोले काम गर्न नसक्ने तथा दिउँसोमा विमानहरुका कारणले काम गर्न असहज भएको थियो । गत वर्षकै कार्यक्रमको निरन्तरता अन्तर्गत रनवे ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो । रनवेमा विमानलाई समस्या हुँदै आएको देखेपछि ओभरले गर्ने योजना अघि सारिएको हो । नेपाल भ्रमण वर्ष सुरु हुनु भन्दा अगाडि पर्यटकहरुको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताउनुभयो ।

भरतपुरमा बन्द हुने भएपछि यति र वुद्धले सिमरा विमान स्थलमा उडान थप गरेको छ । मेघौलीमा तत्काल कुनै उडान गर्ने तयारी नभएको बुद्ध एयर भरतपुरका इन्चार्ज वस्नेतले बताउनु भयो ।

बैकल्पिक विमान स्थल मेघौली

भरतपुर विमान स्थल बाहेक २५ किलोमिटर पश्चिममा मेघौली विमान स्थल रहेको छ । यहाँ हिउदको समयमा चार्टर गरेर विमान आउने गर्दछ । चितवन राष्ट्रिय निकुञ्ज भित्र टाइगर टप्स होटल सञ्चालनमा रहदा यस विमान स्थलमा नियमित विमान आउने गरेको थियो । अहिले मर्मतको लागि भरतपुर विमान स्थल बन्द हुदा यसलाई चलाउने तयारी रहेको भरतपुर विमान स्थलाका प्रमुख गौतमले जानकारी दिनु भयो ।

यस विमान स्थलको रनवे एकहजार मिटर लम्वाइ रहेको छ । यहाँ घासे मैदान भएकाले शुक्रबार घाँस काटेर सफा बनाइएको गौतमले जानकारी दिनु भयो । भरतपुरमा आउने ४५ सिटे विमान यहाँ अवतरण गर्न कठिन छ उहाले भन्नु भयो ‘टुइनटर जहाज भने यहाँ आउन सक्छ । चार्टर गरेर चितवन आउनु पर्दा, वा नियमित उडान गर्नु पर्दा मेघौलीमा कुनै समस्या छैन ।’ प्रमुख गौतमले भन्नु भयो, ‘विमान कम्पनीले चाहेमा मेघौलीमा फ्लाइट हुन्छ, आपतकालिन अवस्थाको लागि त भरतपुरमा नै हेलिकोप्टर राख्न सकिन्छ ।’

७० र ७० मिटर रहेको पार्किङलाई बढाएर ९० र ८० को बनाउन खोजिएको छ । अहिले साना जहाज चारवटा अटेपनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टै तयार हुन्छ । धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि चार करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैयाँ लागत अनुमान गरिएको छ ।

६२ बिगाह क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक ८ र बुद्ध र यतिले भरतपुर–पोखरा एक एक उडान गर्दै आएका छन् । यहाँबाट दैनिक ८०० यात्रुले सेवा लिँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?