logo
२०८२ जेष्ठ ७ मंगलवार



भाडाकै भवनमा स्थानीय सरकार

प्रदेश |


भाडाकै भवनमा स्थानीय सरकार



तिलाचन पाण्डे
तम्घास , मङ्सिर १९ गते । स्थानीय तहको निर्वाचन भएको दुई बर्ष बितिसक्दा पनि गुल्मीका स्थानीय तहका कार्यलय भाडाकै भबनमा छन् । जसले गर्दा स्थानीय तहले करोडौ खर्च स्थानीय तहको कार्यलय भाडामै गएको देखिन्छ ।

२०७३ फागुन २७ गते स्थानीय तह स्थापना भए । जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । स्थानीय तहले घरभाडाबापत झण्डै डेढ करोड खर्च हुने गरेको छ । स्थापना भएदेखि ०७५ असार मसान्तसम्म कुल एक करोड ३७ लाख ५२ हजार १३५ घरभाडामै खर्च गरेका छन् । चन्द्रकोट गाउँपालिकाले हालसम्म घरभाडास्वरुप २२ लाख ६६ हजार ६ सय खर्च भएको छ ।

यो रकम जिल्लाका सबै स्थानीय तहले बुझाउनेमध्येको सबैभन्दा धेरै हो । गाउँपालिकाको वडा नम्बर ६ समेत भाडामै संचालित छ । गाउँपालिकाको कार्यालय संचालनको लागि १६ कोठासहितको स्थानीय क्याम्पस भाडामा लिइएको छ । भने प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारी सहितका केहि कर्मचारी र गाउँपालिका उपाध्यक्ष राधिका अर्याल बस्ने कोठा पनि भाडामै लिइएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७३÷७४ मा ६० हजार घरभाडामै बुझायो । त्यस्तै आर्थिक बर्ष ०७४÷७५ मा ८ लाख ९२ हजार तथा आ.व. ०७५÷७६ मा १३ लाख १४ हजार ६ सय खर्च भएको लेखापाल बाबुराम भुसालले जानकारी दिनुभयो ।

मदाने गाउँपालिकाले ०७५ असार मसान्तसम्म कुल ६ लाख ४५ हजार भाडा बुझाएको छ । गाउँपालिकाका दुई वडा समेत भाडामै संचालित छन् । जसमध्ये आ.व. ०७३÷७४ मा ३ महिनाको ७५ हजार गाउँपालिकाको घरभाडा बुझाएको छ । ०७४÷७५ मा मासिक २५ हजारका दरले तीन लाख तथा ०७५÷७६ मा मासिक १५ हजारका दरले एक लाख ८० हजार घरभाडामा खर्च भएको सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिनुभयो ।

कालीगण्डकी गाउँपालिकाका वडा नम्बर ३, ४ र ७ का कार्यालय भाडामै संचालन भएका छन् । भने गाउँपालिकाको कार्यालय पनि भाडामै संचालित छ । वडातर्फ आ.व. ०७३÷७४ मा १ लाख ५ हजार, ०७४÷७५ मा २ लाख ५२ हजार तथा ०७५÷७६ मा २ लाख ५२ हजार बुझाएको छ । भने गाउँपालिकाको भाडास्वरुप आ.व. ७३÷७४ मा ४८ हजार बुझाएको छ । त्यस्तै आ.व. ०७४÷७५ मा १ लाख ४४ हजार र आ.व. ७५÷७६ मा पनि १ लाख ४४ हजार बुझाएको छ । गाउँपालिकाले ०७५ असार मसान्तसम्म वडा तथा गाउँपालिका कार्यालयको गरी कुल ९ लाख ४५ हजार बुझाएको गाउँपालिकाले जनाएको छ।

सत्यवती गाउँपालिकाले आ.व. ०७३÷७४ मा ४ महिनाको घरभाडा ३ लाख १० हजार बुझाएको छ । आ.व. ०७४÷७५ मा ७ लाख ९५ हजार तथा ०७५÷७६ मा ९ लाख ४५ हजार बुझाएको सूचना अधिकारी नेत्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । गाउँपालिका कार्यालय स्थापना भएदेखि ०७५ असार मसान्तसम्म कुल २० लाख ५० हजार घरभाडामै खर्च भएको पाण्डेले बताउनुभयो ।

छत्रकोट गाउँपालिकाका पनि गाउँपालिका कार्यालय सहित विषयगत सबै शाखा भाडाकै घरमा संचालित छन् । सबै विषयगत शाखासहित आ.व. ०७४÷७५ देखि मासिक ४८ हजार १ सय का दरले गाउँपालिकाले भाडा बुझाउदैँ आएको छ । यसरी २४ महिनाको ११ लाख ५४ हजार ४ सय घरभाडामै खर्च भएको सुचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

जिल्लाको रुरु गाउँपालिकाको वडा नम्बर ४ को स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्र लगायत अन्य विषयगत शाखाका कार्यालय पनि पनि भाडामै संचालित छ । गाउँपालिका कार्यालय वडामा संचालन गरिएको छ । यसभन्दा अगाडी संचालन गरिएको गाउँपालिका कार्यालयमा अहिले अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष छ । गाउँपालिकाले कुल १० लाख १० हजार ५३५ घरभाडामै खर्च गरेको स्वास्थ्य संयोजक छत्र अधिकारीले जानकारी दिनुभयो ।

इस्मा गाउँपालिका गठन हुँदा सुरुमा इस्मा स्वास्थ्य चौकी भवनमा कार्यालय व्यवस्थापन ग¥र्यो । त्यसपछि ०७४ असार १ गतेदेखि ०७५ मंसिर मसान्तसम्म प्रतिकोठा ३ हजारका दरले ७ कोठाको मासिक २१ हजार बुझाउने गरी घर भाडामा लिएको सूचना अधिकारी नारायण महतले जानकारी दिनुभयो । ०७५ पुष १ गतेबाट ३ कोठा थप गरी भाडा बुझाउने सम्झौता भयो । जसअनुसार दुई आर्थिक बर्षमा कुल ५ लाख ८८ हजार भाडामा खर्च भएको सुचना अधिकारी महतले बताउनुभयो ।

मालिका गाउँपालिकाका वडा नम्बर ४ र ५ का कार्यालय समेत भाडामै संचालित छन् । आ.व. ७३÷७४ मा वडा कार्यालयको भाडास्वरुप २५ हजार र ०७४÷७५ मा ७५ हजार खर्च भयो । आ.व. ०७५÷७६ मा ५ नम्बर वडा कार्यालयको मात्रै ३२ हजार तथा सोहि आ.व.मा गाउँपालिका कार्यालयको ८८ हजार भाडामा खर्च भयो । वडा तथा गाउँपालिकाको गरी मालिका गाउँपालिकामा २ लाख २० हजार खर्च भएको सुचना अधिकारी जगतबहादुर पौडेलले जानकारी दिनुभयो । २०७६ वैशाख २५ गतेबाट गाउँपालिकाले बहुउदेश्यीय सभाहलबाट कार्यालय संचालन गरेको पौडेलले बताउनुभयो ।
रेसुगां नगरपालिकाले सात वडासहित नगरपालिकाको भवनको घरभाडा बुझाउदै आएको छ । भवन तथा वडासहितको ०७५ असार मसान्तसम्म कुल १४ लाख ५७ हजार ४० घरभाडा बुझाएको छ । नगरपालिका सुरुमा तम्घास बृहत खानेपानी आयोजनाको घर भाडामा लिएर बसेको थियो । त्यहाँ मासिक १४ हजार ६६५ का दरले १६ महिनाको कुल २ लाख ३४ हजार ६४० बुझाएको सुचना प्रविधि अधिकृत तपन पाण्डेले जानकारी दिनुभयो । त्यसपछि खानिगाउँको एक घरमा अहिले नगरपालिकाले मासिक ७६ हजार भाडा बुझाउछ । एक वडासहित नगरपालिकाले हालसम्म घरभाडाबापत ९ लाख ९८ हजार ६४० खर्च भएको छ । यो बाहेक नगरपालिकाका सात वडा भाडामा छन् । गत आर्थिक बर्षमा मात्रै नगरपालिकाका वडा कार्यालयको भाडा ४ लाख ५८ हजार ४ सय खर्च भएको छ । यसरी हिसाव गर्दा नगरपालिकाका सबै वडासहित हालसम्म कुल १४ लाख ५७ हजार ४० खर्च भएको सुचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिनुभयो । त्यस्तै मुसिकोट नगरपालिकाले ७ लाख ५० हजार र धुर्कोट गाउँपालिकाले ७ लाख ८० हजार घरभाडामै खर्च गरेका छन् । जिल्लाका कुनै पनि स्थानीय तहले आफ्नै भवन बनाउन सकेका छैनन् । धुर्कोट गाउँपालिकाले तालिम केन्द्र भनेर बनाएको भवनमा अहिले गाउँपालिका कार्यालय संचालन गरेको छ । मदाने गाउँपालिका वडा कार्यालयमा बसेको छ भने मालिका गाउँपालिका बहुउदेश्ययीय भवनबाट काम गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?