बेलिना थापा
लमजुङ, मङ्सिर २६ गते । हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको छ । माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ परेको स्थानीयले बताएका छन् । करिब १÷२ घण्टा हिउँ परेपछि चिसो बढेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष मेङ्खु गुरुङका अनुसार बिहीबार विहानबाट हिउँ पर्न सुरु भएको हो । चिसो बढ्न थालेको छ । ‘गाउँघरमा वस्तीमै हिउँ प¥यो । डाँडाकाँडा हिउँले ढाकिएको छ । चिसो बढ्दै छ’ उहाँले भन्नुभयो, ‘चिसो बढेर मात्रै हो । जनजीवनमा भने खासै प्रभाव परेको छैन ।’
मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने हुम्डे, मनाङ, ङावल, घ्यारुलगायतका ठाउँमा हिउँ परेको उहाँले बताउनुभयो । स्थानीयका अनुसार माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङले बताउनुभयो ।
मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार मनाङमा २ साताअघि हल्का हिउँ परेको थियो । विहीबार विहान पुनः केही समय हिउँ परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘माथिल्लो क्षेत्रमा हिउँ परेको छ । तल्लो क्षेत्रमा बादल लागेको छ । चिसो बढेको छ । हिउँ र चिसोका कारण जनजीवन प्रभावित हुन थालेको छ ।’
मनाङ प्रहरीले हिमपात भएको वस्ती क्षेत्रमा गस्ती गरेको छ । प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले बुधबारबाट रातिबाट बिहीबार विहानसम्म माथिल्लो भेग (मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका) क्षेत्रमा हिमपात भएको बताउनुभयो । हिमपात पश्चात प्रहरी चौकी हुम्डेका प्रहरी सहायक निरीक्षक धनबहादुर थापाको कमाण्डमा गस्ती गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो । हिमपात भएको क्षेत्रको अवस्थाको जानकारी लिन गस्ती गरिएको उहाँले बताउनुभयो । उहाँले हिमपातबाट भौतिक तथा मानवीय क्षति नभएको बताउनुभयो ।
यसैबीच, हुम्ला समाचारदाता राजन रावतका अनुसार हुम्लामा हिमपात सुरु भएको छ । बिहीबार विहान ३ बजेबाट हिमपात सुरु भएसँगै ५ बजेबाट जमिनमा हिउँ जम्न थालेको छ ।
हिउँ जमिनमा जम्न सुरु भएपछि आधा हिउँ जमेको छ । सबैतिर सेताम्मे देखिन्छ भने बाक्लो कुहिरो लागेको कारण अध्याँरो पनि भएको छ । तापक्रम भने विहान माईनस चार डिग्रीमा भर्दा चिसो बढेको छ । उत्तरी हुम्लाका अग्ला स्थानमा हिउँ बढी जमेको छ । पशुवस्तुलाई वनमा लैजान कठिन हुने छ भने किसानहरु भने उिहँ परेपछि जेठासी बाली उम्रने हुँदा खुसी देखिएका छन् । हिमपातपछि नाम्खा गाउँपालिकाको लिमी ,चाला र हिल्सा आवतजावतमा कठिनाई हुनेछ । हुम्लामा यस वर्षको यो दोस्रो हिमपात हो ।