logo
२०८१ मंसिर १२ बुधवार



हराएको सातवर्ष पछि पुनर्मिलन, परिवारमा खुसी

प्रदेश |


हराएको सातवर्ष पछि पुनर्मिलन, परिवारमा खुसी
सातवर्ष पछि आफ्नो दाजु महेन्द्रसँग भेट हुँदा खुसी हुँदै कल्पना , तस्बिर - सहदेव बस्नेत



सहदेव बस्नेत
खलङ्गा, पुस २ गते । घरबाट सातवर्ष पहिला हराएकी बारेकोट गाउँपालिका–५ करुकाकी कल्पना थापाको उद्दार गरिएको छ । मानव सेवाका क्षेत्रमा काम गर्दै आएको भारतको तमाना सिष्टर अफ च्यारेटी (हराएका महिलाहरुको संरक्षण घर) ले कारितास नेपाल र यार्सन जाजरकोटको समन्वयमा भारतको नयाँ दिल्लीबाट कल्पनाको उद्दार गरेर जाजरकोट पु¥याएको हो ।

तमाना सिष्टर अफ च्यारेटीमा कार्यरत मन्जुषाको समूहले कल्पनालाई भारतको नयाँदिल्लीबाट जाजरकोट सदरमुकाम खलंगा ल्याएर मंगलबार कल्पनाका दाजु महेन्द्र थापालाई बुझाएको छ । कल्पनाका दाजु महेन्द्र थापा, गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंह, वडा सदस्य भक्तबहादुर बस्नेत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि गोपालबहादुर शाहीलगायतको रोहबरमा तमाना सिष्टर अफ च्यारेटीको समूहले कल्पनालाई अभिभावकसँग बुझाएको थियो ।

कम स्मरण शक्ति भएकी कल्पनालाई आफूहरुले एक वर्ष भन्दा बढी समयसम्म उपचार गरेपछि मानसिक सन्तुलनमा आएको मन्जुषाको भनाइ छ । कल्पनाले अझै पनि नियमित रुपमा औषधि खाई राख्नुपर्ने बताउँदै उहाँले कल्पनाले घरमा रहेकी आमालाई स्मरण गरेर नेपाल फर्किने इच्छा व्यक्त गरेपछि उहाँलाई नेपाल फर्काउन कारितास नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जका व्यवस्थापक जनक शर्मासँग सम्पर्क गरिएको जनाउनुभयो ।

जाजरकोटको रिम्ना र कार्कीज्युलाको नाममात्र बताउन सक्ने कल्पनाको घर कहाँ हो भनेर आफूले पत्ता लगाउन युवा जागरण विकास केन्द्र नेपाल (यार्सन)का कार्यक्रम संयोजक सहदेव बस्नेतसँग सम्पर्क गरेको कारितास नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जका व्यवस्थापक जनक शर्माले बताउनुभयो ।

कार्यक्रम संयोजक बस्नेतको सहयोगमा कल्पनालाई अभिभावकसम्म पु¥याउन सफल भएको व्यवस्थापक शर्माको भनाइ छ । कल्पना जस्तै समाजमा धेरै महिला दिदीबहिनी हराइरहेको बताउँदै व्यवस्थापक शर्माले नेपालगञ्ज खजुराकी एक महिलालाई दुईदिन अघि पुनःस्थापना गरिएको जानकारी दिनुभयो ।

कल्पनाको उपचारका लागि चाहिने रकमको व्यवस्था गाउँपालिकाले सहयोग गर्ने उपाध्यक्ष शाहीले बताउनुभयो । सातवर्षदेखि हराएकी कल्पनालाई आफ्नै गाउँघरमा पुनःस्थापना गर्न सहयोग गर्ने सबैलाई गाउँपालिकाले धन्यवाद दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?