सर्लाही समाचारदाता
सर्लाही, पुस ३ गते । सर्लाहीको हरिवनमा प्रहरीलाई घुस खुवाएर मुद्दा मिलाउन खोज्ने एक जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुवास भट्टराईलाई घुस दिएर सवारी सम्वन्धी मुद्दा मिलाउन खोज्ने बागमती नगरपालिका–८, सोल्टीका ३२ वर्षीय श्यामकुमार श्रेष्ठ पक्राउ परेका हुन् । गत भदौ १७ गते पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–११, लच्कामा भएको सवारी दुर्घटनाको मुद्दामा सहजिकरण गरिदिन भन्दै श्रेष्ठले प्रहरी निरीक्षक भट्टराईलाई दस हजार रुपियाँ घुस खुवाउन खोजेका थिए ।
प्रहरी निरीक्षक भट्टराईको टेबुलमा रकम राखेर बाहिरिन खोज्दा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।