गोकर्ण दयाल
बैतडी,पुस ४ गते । २८ वर्षअघि खुलेको १५ शैयाको जिल्ला अस्पताल बैतडीका सबै डाक्टरको सरुवा भएपछि बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी परेको छ । तीन जना डाक्टरको दरबन्दी भए पनि कार्यरत रहनु भएका एक जना डाक्टरको समेत सुरुवा भएपछि बैतडी अस्पताल डाक्टरको खोजीमा रहेको छ ।
तीन जना डाक्टरको दरबन्दी भए पनि एक जना डाक्टरको भरमा अस्पताल चलिरहेको थियो । कार्यरत रहनु भएका डाक्टर जगदिशचन्द्र बिष्टको पनि सरुवा भएपछि बैतडी अस्पताल सुनसान बनेको छ । अस्पतालमा डाक्टर मात्र होईन, ४ जना स्टाफनर्सको दरबन्दीमा चारै जना खाली छन् ।
अस्पतालमा डाक्टर लगायत स्टाफनर्स अभावले गुणस्तरीय स्वास्थ्य सेवा नपाउँदा बैतडीवासी उपचार गर्न भारतजान बाध्य भएका छन् ।
जिल्ला अस्पताल बैतडीको आर्थिक वर्ष २०७५/२०७६ को तथ्याङ्क अनुसार सात प्रतिशतले मात्र बैतडी अस्पतालबाट सेवा लिएका छन् । बैतडीको जनसंख्या दुई लाख ५० हजार रहेको छ । जिल्लामा १५ शैयाको एक अस्पताल, ६८ वटा सास्थ्य चौकी र दुई वटा प्राथमिक सवस्थ्य केन्द्र रहेका छन् ।
जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी छ, त्यहाँ पनि डाक्टर छैन् । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना डाक्टरको दरबन्दी छ । त्यहाँ पनि वर्षौदेखि एक जना डाक्टरको दरबन्दी खाली रहेको छ ।
खोप सेवा र गर्भवति चेकजाँच बाहेकका बिरामीलाई सेवा दिन स्थापना गरिएका प्राथमिक सवस्थ्य केन्द्र र जिल्ला अस्पतालमै डाक्टर नभएपछि अधिकाशं बिरामी उपचार गर्न जिल्ला बाहिर र खासगरि भारत जान बाध्य भईरहेका छन् ।
दशरथ चन्द नगरपालिका–९, का महेश जोशीले भन्नुभयो,- म बिरामी छु । बैतडी अस्पतालमा गएर चेकजाँच गराउँन डाक्टर छैनन् । अब भारततिर जाने तयारीमा छु ।
भारतमा उपचार गराउँन जाँदा आर्थिक रुपमा ठगिनेहरुको पीडा झन कहाली लाग्दो छ । उपचार गराएर भारतबाट फर्किदै गरेका केशव बिकले भन्नुभयो, भारतका निजी अस्पतालले औषधि किनेको बिल दिदैनन् । बोली व्यबहार पनि तँ र तिमी भनेर डाक्टरदेखि जिप चालकसम्मले हेप्ने गरेर बोल्छन् । प्रतिवाद गरे डोट्याल भनेर गाली गर्छन् ।
देश संघीयतामा गएपछि स्थानीय तहमा समेत १५ शैयाको एक अस्पताल खोल्ने भनिएको तर, भएको एउटा जिल्ला अस्पताल र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।
भट्टले भन्नुभयो, बैतडी अस्पतालमा डाक्टर पठाईदिन भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई गुहार माग्न दुईदिनदेखि धनगढी आएकी छु । डाक्टर कतै भेटिएका छैनन् ।