दमक, पुस १० गते । कमल गाउँपालिका वडा नं. ५ मा बिहीबार विहान हात्तीको एक हुलले तीनजनाको घरमा क्षति पुर्याएको छ । विहान सबेरै आएका हात्तीहरुले स्थानीयको घरमा क्षति पुर्याएको र एक घरको गारो भत्काएको वडा नं. ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताउनुभएको छ ।
हात्तीले स्थानीय विष्णु खनाल, मोहन मुखिल र लक्ष्मीप्रसाद खनालको घरमा क्षति पुर्याएको हो । विहान ४ बजेतिर ३ वटाको संख्यामा आएका हात्तीलाई स्थानीयले दमकतिर भगाएका थिए । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार एक घरको पार्खाल भत्काएको र अन्य घरहरुमा सामान्य क्षति पुर्याएको पाईएको छ ।
कमल गाँउपालिकामा क्षति पुर्याएर हात्तीहरु दमक प्रवेश गरेको जनाईएको छ । विहान हात्ती देखिएपछि स्थानीयको भागाभाग भएको दीपेन्द्र ढुंगेलले बताउनुभयो । हात्तीहरुलाई हम्सेदुम्से सामुदायिक वनको जंगलतर्फ खेदाईएको र बाहिर आएर क्षति गर्ने डरले आफूहरु त्रसित भएको पनि उहाँले जनाउनुभयो ।
दमक वडा नं. ३ का वडाध्यक्ष नविन बरालका अनुसार यस्तो चिसो जाडोको समयमा रातभर हात्ती रुघेर बस्नु पर्ने अवस्था सिर्जना भएको छ । केही समय यता आफ्नो वडामा हात्तीले धेरै दुःख दिएको र हात्ती धपाउन सहजताका लागि टर्चलाइट तथा अगुल्टो बाल्न मट्टितेल समेत वितरण गरिएको उहाँले बताउनुभयो ।