गोरखापत्र अनलाइन
काठमाडौँ, पुस १३ गते । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित आइतबार शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०४ औँ जन्मजयन्ती मनाइएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूदारा आयोजित कार्यक्रममा अध्यक्ष सुरजवीर वज्राचार्यले पत्रकार संगठित गर्ने अभियानको सुरुवात वि.सं.२००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले पहिलो पटक गर्नुभएको दाबी गर्नुभयो ।
वि.सं. २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाल कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो ।
नेवाः पत्रकार राष्ट्रिय दबूका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले पनि सम्बद्ध पक्षको आधिकारिक धारणा माग राख्नुभयो ।
आदर्श विद्या मन्दिर (एभिएम) की प्रिन्सिपल सुजिता मानन्धरले श्रेष्ठको उचित मूल्याङ्कन होस् भनी माग गर्नुभयो ।यसैगरी, नेवाः पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ र सचिव केके मानन्धरले मन्तव्य दिनुभएको थियो ।
यसअघि, नेवाः पत्रकार राष्ट्रिय दबुले एभिएममा अवस्थित श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेको थियो ।