logo
२०८१ मंसिर १२ बुधवार



भरतपुर क्यान्सर अस्पतालमा सुधार शल्यक्रियाको लागि पालो कुर्नु नपर्ने

प्रदेश |


भरतपुर क्यान्सर अस्पतालमा सुधार शल्यक्रियाको लागि पालो कुर्नु नपर्ने


शान्ता अधिकारी

चितवन, पुस १४ गते । चितवनको भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पछिल्लो समयमा सेवा विस्तारसँगै उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न थालेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार शुक्रबारदेखि अस्पतालले अत्याधुनिक उपकरणसहितका आठ वटा शल्यक्रिया कक्ष सञ्चालन गरेर उपचार सेवामा आयाम थप गरेको हो ।
उहाँले नयाँ शल्यक्रिया कक्षको सञ्चालनपछि उपचार सेवाको गुणस्तर वृद्धि हुनुको साथै शल्यक्रियाको लागि लामोसमयसम्म पालो कुर्नुपर्ने अवस्थामा कमी आउने बताउनुभयो ।
उहाँले पछिल्लो एक डेढ वर्षयता अस्पतालले उपकरण थप गर्दै आफ्नो उपचार सेवामा गुणस्तरीयता कायम गर्दै आएको भन्दै पछिल्लो एक वर्षयता थप दुई सय शैया सञ्चालन, अस्पतालमा भित्रिएरपनि सञ्चालनमा नआएका चीन सरकारबाट प्राप्त उपकरणको सञ्चालन र नयाँ रेडियो थेरापी मेसिनको प्रयोग सेवा गुणस्तरको सूचक भएको दाबी गर्नुभयो ।
नेपाल सरकारको अनुदानसहित १५ करोड रुपियाँमा ती अध्याधुनिक शल्यक्रिया कक्ष थप गरी सञ्चालन गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक आचार्यका अनुसार यी आठ वटा शल्यक्रिया कक्ष संचालन पूर्व अस्पतालमा चार वटामात्र शल्यक्रिया कक्ष सञ्चालनमा थिए । नयाँ शल्यक्रिया कक्ष सञ्चालनपछि यसभन्दा अगाडि सञ्चालनमा रहेका कक्ष अन्य प्रयोजनको लागि अस्पतालले प्रयोगमा ल्याउने उहाँले बताउनुभयो । उहाँले सेवा र उपचार पद्धति उही भएपनि नयाँ सञ्चालनमा ल्याइएका शल्यक्रिया कक्षबाट गरिने शल्यक्रियाको गुणस्तर भने वृद्धि हुने जानकारी दिनुभयो । नयाँ शल्यक्रिया कक्ष अत्याधुनिक यन्त्र जडित मात्र छैनन् विरामीलाई हुनसक्ने सङ्क्रमणबाट पूर्ण सुरक्षित छन् ।
क्यान्सर रोगको लागि दक्षिण एसियाकै नमूना भन्ने गरिएको भएपनि राजनीतिक अस्थिरताका कारण अस्पतालले आशातित विश्वास जित्न सकिरहेको थिएन ।
अस्पताल सञ्चालक समितिका अध्यक्षसमेत रहनु भएका भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पछिल्लो समय अस्पतालको उपचार सेवामा गरिएको स्तरोन्नतिले आशा जगाएको बताउनुभयो ।
उहाँले अस्पताल प्रशासनले पेट स्क्यान मेसिन ल्याउने, बोनम्यारो ट्रान्सप्लान्ट सेवाको सुरुआत गर्ने र रेडियो थेरापी सेवाको विस्तार गर्ने जस्ता थप योजना ल्याएको र आफूले आफ्नो तहबाट त्यसमा पहल गरिरहेको पनि बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?