logo
२०८१ मंसिर १२ बुधवार



काँचुली फेर्दै झुङगा—जगाडी सडक

प्रदेश |


काँचुली फेर्दै झुङगा—जगाडी सडक


सिन्धुली समाचारदाता

झुङगा(सिन्धुली), पुस १४ गते । एसियाली विकास बैङ्कको सहयोगमा सिन्धुलीको दुधौली नगरपालिका अन्तर्गत झुङ्गा—जगाडी ग्रामीण कृषि सडक निर्माणसँगै स्थानीय बासिन्दामा खुशीयाली छाएको छ ।
वर्षौदेखि जीर्ण साढे १२ किलोमिटर लामो उक्त सडकको स्तरोन्नतीसहित कालोपत्रे गरिने भएपछि स्थानीय बासिन्दामा खुशीयाली छाएको हो । ‘घर अगाडिको सडक पिचसहित निर्माण हुने भएपछि खुशी नहुने त कुरै भएन’, दुधौली नगरपालिका—३ निपाने निवासी शिक्षक वासु कोईरालाले बताउनुभयो ।
निपानेकै झुङ्गादेखि हर्षाहीको जगाडी हुँदै टाँडी धनसरीसम्म यातायातका साधन कुद्न थालेको २० वर्षभन्दा बढी भएपनि बल्ल काँचुली फेर्न थालेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘सडकमा ठूला÷ठूला खाडल, त्यसमा पनि लोहोरा जस्ता ढुङ्गामाथि यातायातका साधन कुदाउँदा यात्रा निकै सास्ती र जोखिमपूर्ण थियो । कालोपत्र सडक निर्माण सुरु भएपछि स्थानीय पनि उत्साहित भएका छन् ।’
सडक गत वर्ष चैतदेखि निर्माण सुरु गरेको हो ।
नेपाल सरकारले एसियाली विकास बैङ्कसँग ऋण सहयोग लिएर सडक निर्माण भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज बर्मा तिवारी बताउनुहुन्छ ।
सडक निर्माणसँगै स्थानीय कृषि उत्पादन बेचबिखन गर्न सहज हुने उहाँको भनाई छ । निर्माण कम्पनी ईम्यानोयल कन्ट्रक्सन कम्पनीका प्रमुख छेत्र बम्जनका अनुसार सडक निर्माण ६० प्रतिशत सकिसकेको छ । नाला बाहेक सडकको चौडाई पाँच दशमलब २५ मिटर हुने र त्यसमा कालोपत्रेको भाग साढे चार मिटर रहेको छ । सडकको कुल लागत भ्याट बाहेक १७ करोड ४७ लाख ३७ हजार ६९४ रुपियाँ रहेको जनाइएको छ ।
‘यो वर्ष जेठसम्म कालोपत्रे सक्छौ र जगाडीभन्दा अगाडिको काम सुरु गर्छौ,’ निर्माण व्यवसायी बम्जनले भन्नुभयो, ‘जगाडी अगाडि फेरी छ करोड रुपियाँको काम थपिएको छ । २०७७ चैतसम्म पुरै कामसक्ने लक्ष्य रहेको छ ।’
मदन भण्डारी लोकमार्गअन्तर्गत दुधौली नगरपालिका—२ रतनपुरदेखि निपानेको झुङ्गालाई जोड्ने गरी कमला नदीमा पक्की पुल बन्दै छ । झुङ्गादेखि पश्चिम रानीबास हुँदै मदन भण्डारी लोकमार्ग बन्दै गरेको र झुङगादेखि पूर्व जगाडी धनसरीसम्मको सडक ओझेलमा परेको स्थानीयले गुनासो गर्दै आएका थिए ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?