logo
२०८१ मंसिर १२ बुधवार



हुलाकी सडक बन्यो, भारतसँगको परनिर्भरता हट्यो

प्रदेश |


हुलाकी सडक बन्यो, भारतसँगको परनिर्भरता हट्यो


गोविन्द शर्मा
बाँके, पुस १४ गते । हुलाकी सडकको कालोपत्रे भए पछि बाँकेको राप्ती पारी नरैनापुुर गाउँपालिका सदरमुकाम नेपालगञ्जसँग सडक यातायातले जोडिएको छ । ४४ किलोमिटर लामो नेपालगञ्ज कटकुइया सडकमध्ये २९.५ किलोमिटर सडक कालोपत्रे भईसकेको छ ।
सडक कालोपत्रे नेपालगञ्जबाट सुरु भई नरैनापुरको मैटहवासम्म पुगेपछि सार्वजनिक यातायातका साधन सहजरुपमा संचालन भएका छन् । सडक निर्माणले भारतसँगको परनिर्भरता हटाएको नरैनापुर गाउँपालिका गंगापुरका सोहनलाल यादवले जानकारी दिनुभयो ।
यादवका अनुसार अब भारतीय बाटो भएर नेपालगञ्ज पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ र नेपालगञ्जसँग निकटता बढाएको छ । यसअघि जीर्ण सडकका कारण सवारी साधन भारतीय बाटो भएर नरैनापुर पुग्नुपर्ने बाध्यता थियो ।
यस सडकमा नरैनापुरसँगै डुडुवा र राप्तीसोनारी गाउँपालिकाका केही वडा समेत जोडिएका छन् । सडक कालोपत्रे जारी रहँदा शितलहरका कारण हाल भने कालोपत्रेको काम रोकिएको छ । फागुनभित्र सम्पूर्ण सडक कालोपत्रे भईसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका ईञ्जिनियर रामसागर हरिजनले जानकारी दिनुभयो ।
नेपाल सरकार आफैले निर्माणको जिम्मा लिएपछि तराई मधेसका जिल्लाको लाईफलाईनको रुपमा मानिएको हुलाकी सडकको निर्माणले गति लिएको हो । हुलाकी सडक अन्तर्गत बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको पुष्पलालचौकदेखि नरैनापुर गाउँपालिकाको कटकुइया सम्म ४४ किलोमिटरमा तीन स्थानबाट कालोपत्रेको काम भएको हो । राप्तीपुल भन्दा पुर्वतर्फको केही भाग बाँकी छ । यसको काम पनि फागुनभित्रै सकिने आयोजनाले जनाएको छ ।
हुलाकी सडक २२÷२२ किलोमिटर गरी दुईचरणमा निर्माण भईसकेको छ । पप्पु लुम्विनी जेवीले २०७३ माघ २० देखि सुरु गरेको सडक निर्माण कार्य गत साउन मसान्तभित्र पूरा गरिसक्नुपर्ने थियो । पछिल्लो पटक फागुन मसान्तभित्र सम्पन्न गर्ने गरि म्याद थप भएको छ । हुलाकी सडकमा पप्पु लुम्विनी जेवीको ठेक्का भए पनि गणपति निर्माण सेवाले काम गरिरहेको छ ।
सडक खण्डभित्र निर्माण गर्नुपर्ने ७० वटा कल्भर्ट निर्माण सम्पन्न भईसकेको छ । ६६ करोड ५ लाख रुपियाको लागतमा सडक निर्माण कार्य भईरहेको छ । जसमध्ये पहिलो खण्डका लागि ३४ करोड ६६ लाख र दोश्रो खण्डका लागि ३१ करोड ३९ लाख वजेट छ ।
आर्थिकबर्ष ०६७÷६८ देखि हुलाकी सडक निर्माण सुरु भएपनि भारतीय कम्पनीले निर्माणमा बेवास्ता गरेपछि तीन बर्षअघिदेखि नेपाल सरकार आफैले हुलाकी सडकको निर्माण कार्य सुरु गरेपछि कामले गति लिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?