गोरखापत्र अनलाइन
काठमाडौं, पुस १५ गते । नेपाली कांग्रेसका ओखलढुंगाका पूर्व पार्टी सभापति प्रेमराज राईको ७२ वर्षको उमेरमा सोमबार राती काठमाडौंको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा निधन भयो । ओखलढुंगा जिल्ला विकास समितिका पूर्व सभापतिसमेत हुनुभएका राई पूर्वमन्त्री स्वर्गीय बलबहादुर राईका जेठा छोरा हुनुहुन्छ । उहाँकी दिदी प्रमिला राई सांसद हुनुहुन्छ । उहाँ लामो समयदेखि कलेजो र मिर्गौलाको रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँको निधनप्रति शोक व्यक्त गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री डा.प्रकाशशरण महत, ओखलढुंगाका सांसद यज्ञराज सुनुवार, पूर्वमन्त्रीहरू दिलेन्द्रप्रसाद बडू, होमनाथ दाहाल, डा. मिनेन्द्र रिजाल, पूर्व सांसद एवम् नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा, ओखलढुंगा कांग्रेसका सभापति यज्ञराज सुनुवारकालगायतका नेताहरू अस्पताल पुग्नुभएको थियो ।
नेता खतिवडाका अनुसार, स्वर्गीय राईको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि मङ्गलबार नै ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. १ मोलीमा रहेको उहाँको पुख्र्यौली निवासतर्फ लगिएको छ ।
उहाँका श्रीमती, दुई छोरा, दुई छोरी हुनुहुन्छ । २००४ साल असार ११ गते जन्मनु भएका राई सानै उमेरबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै आउनु भएको थियो । पिता बलबहादुर राई प्रवासमा रहँदा प्रेमराज राई पनि भारतमै रहनुभयो । पञ्चायतकालमा पटक–पटक गरी उहाँ साढे तीन वर्ष जेल पर्नुभएको थियो ।