logo
२०८१ मंसिर १२ बुधवार



विश्वकै नमुना शालिग्राम सङ्ग्रहालय निर्माण

प्रदेश |


विश्वकै नमुना शालिग्राम सङ्ग्रहालय निर्माण


गण्डकी समाचारदाता

पोखरा, पुस १९ गते । हिन्दू धर्मावलम्बीले पुज्ने गरेको शालिग्रामको संरक्षण र प्रवद्र्धन गर्न बागलुङमा विश्वकै नमुनाका रूपमा सुरुङभित्र सङ्ग्रहालय निर्माण गरिएको छ । कालीगण्डकी नदीमा मात्र पाइने हिन्दूको पुज्य साढे एक लाख शालिग्राम, गण्डकी सभ्यता, विश्वका विभिन्न नदीमा पाइने शिला सङ्ग्रहित गरिएको सङ्ग्रहालय विश्वकै नमुना सङ्ग्रहालयका रूपमा दाबी गरिएको छ ।
करिब एक सय मिटर लामो सुरुङभित्र निर्माण गरिएको सङ्ग्रहालयमा विभिन्न पुराणहरूमा लेखिएका दुर्लभ शालिग्रामका शिला, विश्वका विभिन्न नदीमा पाइने शिलासँगै गण्डकी सम्पूर्ण पहिचान दिने गरी त्रिवेणीधामदेखि मुक्तिनाथसम्मको छ सय किलोमिटर दूरीलाई ८० मिटरको फ्रेममा अध्ययन गर्न मिल्ने बनाइएको छ ।
बागलुङ नगरपालिका–४, कुँडुलेस्थित रङ्गबेङ्कटेश मुक्तिनाथ मन्दिर, मुिक्तनाथ वेदविद्याश्रम, तिरुपति बालाजीधाम मन्दिर परिसरमा निर्माण गरिएको सङ्ग्रहालय भावी पुस्ताका लागि अध्ययनको गन्तव्य बन्न सक्ने स्वामी प्रपन्नाचार्यले जानकारी दिनुभयो ।
करिब छ करोड रुपियाँको लागतमा निर्माण भएको उक्त सङ्ग्रहालयका लागि गण्डकी प्रदेश सरकारबाट ८० लाख रुपियाँ र बागलुङ नगरपालिकाबाट १० लाख रुपियाँ विनियोजन
गरेको थियो ।
कालीगण्डकी नदीको सभ्यतालाई परिचित गराउनका लागि कालीगण्डकी नदीको आठ–दस किलोमिटर दायाँबायाँ रहेका सहर, बजार, नदीनाला, धार्मिक स्थल, त्यस क्षेत्रमा पाइने वन्यजन्तुका बारेमा प्रस्ट्याउने प्रयास गरिएको छ ।
वैष्णव तथा अन्य सनातनीले विष्णुको अवतारका रूपमा पुज्दै आएका शालिग्राम संरक्षण तथा त्यसको महŒवलाई विश्वव्यापीकरण गर्न सक्रिय स्वामी श्रीधराचार्यको नाममा सङ्ग्रहालय निर्माण गरिएको स्वामी प्रपन्नचार्यले बताउनुभयो ।
मानव निर्मित सुरुङभित्र श्रीधराचार्य खण्ड, गण्डकी खण्ड, शालिग्राम खण्ड निर्माण गरिएको छ ।
गण्डकी खण्डमा गण्डकी सभ्भाव्यता, शालिग्राम खण्डमा विभिन्न प्रकृतिका दुर्लभ शालिग्रामको सङ्ग्रह, श्रीधराचार्य खण्डमा श्रीधराचार्यले गण्डकी सम्पूर्णता तथा शालिग्रामका बारेमा लेखेका पुस्तक, खोज, अनुसन्धान अध्ययन गर्न सकिने र अर्को खण्डमा ११२ जना बस्न मिल्ने सभाहलसमेत निर्माण गरिएको छ । बागलुङ बजारदेखि तीन किलोमिटर पर कुँडुलेमा निर्माण गरिएको शालिग्राम सङ्ग्रहालय अवलोकनका लागि आउनेको सङ्ख्या बढ्न थालेको छ ।
हिन्दू धर्मावलम्बीहरूको प्रमुख धार्मिक गन्तव्य मु्क्तिनाथ जाने मार्ग नजिकै भएकाले त्यहाँ पुग्नेहरू एक पटक यहाँ आएर फर्कने गरेको ऋषि प्रपन्नचार्यले बताउनुभयो । करिब १४ वर्ष खोज अनुसन्धानबाट सङ्ग्रहित गरिएका शालिग्रामलाई सुरक्षित रूपमा सङ्ग्रहालयमा सजाएर राखिएको उहाँले बताउनुभयो ।
नेपालको कालीगण्डकी नदीमा पाइने शालिग्राम शिलाबाहेक भारत, चीन, पाकिस्तानलगायत देशका नदी तथा समुद्रमा पाइने शिलाहरूलाई समेत सजाएर राखिएको छ ।
यो सङ्ग्रहालय अध्ययन अनुसन्धानको केन्द्र बन्ने निश्चित छ, यहीँबाट गण्डकी सभ्यताको अध्ययन गर्न सकिने, दुर्लभ शालिग्रामहरू देख्न सकिने भएपछि यहाँ आउनेहरू सन्तुष्ट भएर फर्कने गरेका छन्, स्वामी प्रपन्नचार्यले भन्नुभयो ।
बागलुङ बजारदेखि नजिक भएको र लामो अध्ययन, नयाँ तरिकाले सङ्ग्रहालय निर्माण भएकाले यसले बागलुङमा पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।
बागलुङ कालिका भगवती मन्दिर, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय नजिकै रहेको र एकै दिनमा यी तीनै धार्मिक स्थलको अवलोकन गर्न सकिने भएकाले पोखरा तथा मुक्तिनाथ आउँने पर्यटकलाई यहाँसम्म आकर्षित गर्न सक्ने पौडेलको दाबी छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?