यादवराज पुरी
रौतहट, पुस १९ गते । बढ्दो चिसोसँगै पानी परेपछि रौतहटको विपन्न दलित समुदायका नागरिकको दिनचर्या अस्तव्यस्त बनेको छ । शुक्रबारदेखिको लगातारको वर्षाले जीउ ढाक्ने एकसरो कपडा मात्र भएका जिल्लाको दुसाध, चमार एवम् मुसहर समुदायका नागरिकको दैनिकी अस्तव्यस्त बनेको हो ।
घर, आँगन, चोकमा घुर (छरिएका खर, पराल, घुस्यान बटुलेर बालेका आगो) तापेर दिनको जाडो छल्ने उनीहरु पानी परेपछि घुर ताप्न पनि पाएका छैनन् । भुईंमा पराल, परालमाथि परालकै सुकुलको बिच्छ्यौना र सुकुलै ओढेर रातको जाडो काट्ने गरेको डोम समुदायका अगुवा विजय मल्ली डोमले बताउनु भयो । उहाँकाअनुसार जीर्ण झुपडी, न्यानो कपडाको अभाव र पर्याप्त खानेकुराजस्ता आधारभूत आवश्यकतासमेत पुरा नभएका करिब दुई सय डोम परिवारको अवस्था कष्टकर छ ।
नदी तथा नहर किनार, ऐलानी तथा वनको क्षेत्रको पर्ती जमिन ओगटेर बसोबास गर्दै आएका विपन्न दलित मुसहर समुदायका बालबालिका, बृद्धबृद्धा एवम् सुत्केरी महिला जाडोबाट बढी प्रभावित छन् । धान काट्ने र चुट्ने गरेर कमाएको पैसाले किनेको अन्न समेत सकिन लागेको अवस्थामा न्यानो लुगा किन्न त कल्पना मात्रै हुन्छ भन्नुुभयो बसन्तपुरका ५६ वर्षीय जयराम रामले । जाडोको कारण बाहिर गएर ज्याला मजदुरी गर्न पनि नसकिने उहाँको गुनासो छ । राष्ट्रिय मुसहर उत्थान संघका केन्द्रीय उपाध्यक्ष नथुनी मामmी मुसहरले जिल्लामा बसोबास गर्ने करिब दुई हजार मुसहर परिवार जाडोबाट पीडित छन्, भन्नुभयो ।
ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका विपन्न दलित नागरिकलाई जाडोबाट बच्न न्यानो लुगा लगाउनु पर्छ, पोषिलो झोल पदार्थ खानु पर्छ, बुढापाका, केटाकेटी एवम् सुत्केरीलाई विशेष ध्यान पु¥याउनु पर्छ भन्ने जस्ता कुराको जानकारी त छ तर, मुख्य समस्या गाँस टार्नु नै रहेकोले न्यानो कपडाको जोहो गर्न सक्दैनन् उनीहरु ।
जाडोयाममा गुनासा व्यक्त गर्ने, छलफल गर्ने, न्यानिने ठाउँ भनेकै घर, आँगन तथा चोकमा बालेका घुर हो उनीहरुको । घुर ताप्दै उनीहरु भलाकुसारी गर्छन् । केटाकेटी र बुढाापाका समेत घुर
तापेरै जाडो छलिरहेका छन् । सुकुमबासी भई पुस्तौं बिताएका उनीहरुको पुख्र्यौली पेशा ज्याला मजदुरी र बाँसको काम हो । तर, कठ्याङ्ग्रिदो जाडोसंगै पानी परेको कारण दैनिकी नै अस्तव्यस्त बनेको उनीहरुको गुनासो छ ।