logo
२०८१ मंसिर ९ आईतवार



दलहरु अझै अनिर्णित, चार महिनापछि प्रदेश सभा बस्दै

प्रदेश |


दलहरु अझै अनिर्णित, चार महिनापछि प्रदेश सभा बस्दै


मकवानपुर समाचारदाता
हेटौँडा, पुस २१ गते । प्रदेश ३ को स्थायी राजधानी र नामको बारेमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले बहश र छलफललाई घनिभूत बनाएका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने ठूला दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस प्रदेश सभाको वैठक आव्हान भएको अघिल्लो दिनसम्म अझै अनिर्णित रहेका छन् ।

शुक्रबारबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आइतबार जारी रहेपनि फरक मत आएपछि कुनै निर्णयमा पुग्न सकेन । मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको वैठकमा प्रदेशको राजधानी र नामको बारेमा प्रदेश सभाका सदस्यले धारणा राख्नेक्रम जारी रहेको छ । संसदीय दलको वैठकमा सौहादूपूर्ण वातावरणमा धारणा राख्नेक्रम चलिरहेको नेकपाका संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयालले दावी गर्नुभयो ।

वैठकमा आइतबारसम्म दुई पार्टी नेतासहित ६४ जनाले धारणा राख्नु भएको जानकारी दिंदै मुख्य सचेतक फुयालले दलको वैठक मङ्गलबार विहान ११ वजे पुनः बस्ने गरी स्थगित भएको बताउनुभयो । वैठकमा बोल्ने अधिकांश प्रदेश सभाका सदस्यहरुले राजधानीको स्थायी ठेगाना र नामका सम्बन्धमा पार्टी सचिवालय वैठकले गरेको निर्णयप्रति असन्तोष व्यक्त गरेका छन् ।

सचिवालय वैठकले प्रदेश सभाको र प्रदेश सभाका सदस्यको अधिकारलाई हस्तक्षेप गर्दै निर्णय गरेको भन्दै प्रदेश सभाका सदस्यहरुले संसदीय दलको वैठकमा धारणा राख्नु भएको छ । प्रदेश सभाका सदस्य लक्ष्मण लम्सालले आफूहरु प्रदेशको स्थायी राजधानी काभ्रेमा हुनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै काभ्रेको पक्षमा मत सङ्कलनमा लागेको बताउनुभयो ।
अर्का प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले वैठकमा स्थायी राजधानी र प्रदेशका नामका सम्बन्धमा फरक फरक धारणा आएको बताउँदै धारणा राख्नेक्रम चलिरहेको र संशलेषण गरी संसदीय दलले उपयुक्त निर्णय गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, स्थायी राजधानी काभ्रे हुनुपर्ने र नेपाल मण्डल, नेवाः ताम्सालिङ, बागमतीलगायतको नाम हुनुपर्ने भन्दै धारणा आएको छ । प्रदेश राजधानीको सन्दर्भको प्रदेश सभाको अर्को ठूलो दल काँग्रेसलेसमेत ठोस निर्णय गर्न सकेको छैन । काँग्रेस संसदीय दलको वैठक हेटौँडामा सोमबार बस्दै छ ।
प्रदेश ३ को प्रदेश सभाको पाँचौ अधिवेशन पुस २१ गते सोमबार ३ वजेका लागि आव्हान गरिएको छ । प्रदेश सभाको चौथो अधिवेशन गत भदौ २५ गते अन्त्य गरिएपछि पाँचौ अधिवेशन आव्हान गरिएको हो ।

यसैबीच प्रदेशको राजधानी हेटौँडालाई बनाउन माग गर्दै फरकढङ्गले प्रदर्शन गरिने भएको छ । विरोध प्रदर्शन र नारावाजी नभएर प्रदेश सभाका सदस्यहरुलाई प्रदेश सभा भवन प्रवेश पूर्व फूलमालाले स्वागत र सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । मकवानपुरमा क्रियाशील सबै राजनीतिक दलका युवा, विद्यार्थी सङ्गठन तथा सामाजिक सङ्घसंस्थाका युवाले प्रदेश सभाका सदस्यहरुलाई हेटौँडालाई स्थायी राजधानी बनाउन रचनात्मक दबाब स्वरुप फूलमाला लगाएर स्वागत र सम्मान गर्ने भएका हुन् । प्रदेशसभा भवन अगाडि प्रदेश सभाका सदस्यहरुलाई फूलमाला लगाएर प्रदेश ३ को राजधानी हेटौँडा बनाउन अनुरोध गर्ने कार्यक्रम रहेको युवा सङ्घका अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिनुभयो । ‘जनताको मतको सम्मान, राजधानीमा हेटौँडालाई मतदान’ गर्न भन्दै आव्हान गर्न रचनात्मक दवावमूलक कार्यक्रम गर्न लागेको तरुण दल मकवानपुरका सचिव सचित थापाले बताउनुभयो ।
विभिन्न सङ्घसंस्थाको सहभागितामा बुद्धचोकमा दिउँसो १ वजे भेला भएर ¥यालीसहित प्रदेश सभाको भवन अगाडि जाने कार्यक्रम तय भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?