राजन रावत
सिमकोट, पुस २४ गते । सरकारले देशैभरबाट तुइन विस्थापित गर्ने घोषणा गरेको डेढ वर्ष पुगिसक्दा पनि हुम्लामा भने एक जना मानिसले तुइन तरेको शुल्क एक सय रुपियाँ तिर्नुपरेको छ । पैदलयात्रुले आउजाउ गर्नुपर्ने तर झोलुङ्गे पुलको व्यवस्था नभएपछि छोटो दूरीमा आउजाउ गर्न व्यक्तिले निर्माण गरेका तुइनहरू तर्नुपर्ने भएपछि यात्रुले सो शुल्क तिर्नु परेको हो ।
खार्पुनाथ गाउँपालिकाको बोक्चे गौडामा तुइन तरेको एक सय रुपियाँ शुल्क तिरेको यात्रु मनबहादुर फडेराले बताउनुभयो । कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पु सुनखाडा खण्डको बोक्चे गौडामा सडक निर्माणका क्रममा बाटो अवरुद्ध भएपछि पैदलयात्रु चर्को शुल्क तिरेर तुइन चढ्न बाध्य छन् । बोक्चे गौडामा असजिलो बाटो पार गर्न कठिन भएपछि स्थानीयले व्यक्तिगत रूपमा निर्माण गरेको तुइन तर्न पैसा तिर्नुपरेको छ ।
हुम्लामा कर्णाली नदीमा अहिले पनि आधा दर्जनभन्दा बढी स्थानमा तुइन तर्नुपर्ने अवस्था छ । तुइनमा एकातिर आर्थिक व्ययभार त छ नै
अर्कोतिर ज्यानको जोखिम उत्तिकै मोलेर यात्रुले यात्रा गर्नु परिरहेको छ ।
अप्ठ्यारो बाटोमा जोखिम मोलेर हिँड्न नसकिने, घुमेर जान लामो बाटो हिँड्नुपर्ने भएपछि पैदलयात्रु बाध्य भएर पैसा तिरेर तुइन चढ्नुको अन्य विकल्प नभएको हो । सो तुइनमा दैनिक ठूलो सङ्ख्यामा यात्रुले तर्दै आएका छन् ।
त्यसैगरी सामानलाई तुइनमा तार्नु प¥यो भने प्रतिभारी ५० रुपियाँ लाग्ने गरेको छ । गत वर्ष खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारबाट गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल दैनिक तुइन तरेर गाउँपालिकामा आउजाउ गर्नुपर्ने भन्ने समाचार बाहिर आएपछि प्रधानमन्त्री कार्यालयबाट पुलको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धताअनुसार पुल निर्माणको योजना परे पनि एक वर्षमा पुल बनाउन परेको योजनाले समेत अहिलेसम्म कार्यान्वयनको चरणमा आएको छैन ।
तुइन तर्न मानिसले मात्र पैसा तिर्नुपरेको
छैन । सामान तारेको पनि प्रतिभारी ५० रुपियाँ तिर्नुपर्ने बाध्यता हुम्लावासीलाई रहेको छ ।
कर्णाली नदीमाथि सर्केगार्ड गाउँपालिका–२ को रिपघाटमा निर्माण भएको तुइनमा चार भारी दाउरा तारेको दुई सय रुपियाँ शुल्क तिरेको स्थानीय गेलु फडेराले बताउनुभयो । गाउँमा दाउराको समस्या भएपछि कर्णाली पारिको वनमा टिपेका दाउरालाई तुइन तारेर ल्याउन सो शुल्क तिर्नु परेको उहाँको भनाइ छ ।
एक घण्टा टाढाको दूरीमा कर्णाली नदीमाथि झोलुङ्गे पुल भए पनि मानिसहरू समय धेरै लाग्ने हुँदा त्यसतर्फ जाने चाहना गर्दैनन् । अधिकांश रिप गाउँवासीले सोही वनबाट दाउरा ल्याउने गर्छन् । दुई वर्ष अगाडि सो घाटमा झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारसंँग माग गर्दा कुनै सुनुवाइ नभएको स्थानीय धच फडेराले बताउनुभयो । कतैबाट पुल निर्माणको पहल नहुँदा शुल्क तिरेर तुइन चढ्नु स्थानीय रिपवासाीको बाध्यता भएको उहाँले जनाउनुभयो । म
तल्ला तहहरूमा जनताको मागको सुनुवाइ नभएपछि फडेराले अब केन्द्र सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ । यस्ता तुइन हुम्लामा पर्ने कर्णाली नदीमा मात्र खार्पुनाथ र सर्केगार्ड गाउँपालिका मात्र आधा दर्जन स्थानमा सञ्चालनमा रहेका छन् ।