टीकाबहादुर बस्नेत
दाङ, पुस २४ गते । प्रदेश ५ सरकारले सुरु गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश ५ ले सुरु गरेको ग्रामीण विकास कार्यालय गरिबी निवारणका लागि प्रभावकारी बन्दै गएको हो ।
सामाजिक र आर्थिक सूचकका आधारमा पछाडि पारिएको समुदायलाई लक्षित गरेर प्रदेशका ७३ वटा गाउँपालिकामा सुरु गरिएको कार्यक्रमले स्वरोजगार जनशक्ति उत्पादनमा टेवा पुर्याएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश ५ का कानुन सचिव राजेन्द्र थापाले जानकारी दिनुभयो ।
बिहीबार दाङको घोराहीमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सचिव थापाले स्वरोजगार जनशक्ति उत्पादन गर्नका लागि प्रदेश ५ सरकारले सुरु गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले महत्वपूर्ण रहेको बताउनुभयो ।
विशेष अनुदान वापत मन्त्रालयले ३८ करोड २६ लाख वजेट गाउँपालिकामा पठाएको भन्दै कानुन सचिव थापाले प्रदेशले यो कार्यक्रममा विशेष जोड दिएको जानकारी दिनुभयो । ‘७३ वटा गाउँपालिकालाई ५२ लाखका दरले ३७ करोड ९६ लाख विशेष अनुदान पठाएका छौं । कार्यक्रमको व्यवस्थापनका लागि जिल्ला समन्वय समितिलाई २ लाख ५० हजारका दरले ३० लाख वजेट पठाएका छौं’, सचिव थापाले भन्नुभयो, ‘प्रदेशको ३८ करोड २६ लाख वजेट स्वरोजगार जनशक्ति उत्पादनमा खर्च भइरहेको छ । यसलाई प्रभावकारी बनाउन गाउँपालिकाले विशेष भूमिका खेल्नुपर्दछ ।’
जिल्ला समन्वय समिति र गाउँपालिकाका प्रमुख, उप प्रमुखहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै सचिव थापाले अबको तीन वर्ष प्रदेशका जनताको प्रतिव्यक्ति आय एक हजार ६ सय अमेरिकी डलर पु¥याउने गरी प्रदेश सरकार लागिपरेको बताउनुभयो । ‘प्रदेश ५ को हालको प्रतिव्यक्ति आय ८ सय ३ अमेरिकी डलर छ । पाँचबर्षभित्र अर्थात्अ आर्थिक बर्ष ०८०÷०८१ मा एक हजार ६ सय अमेरिकी डलर पु¥याउने प्रदेश सरकारको योजना छ’, सचिव थापाले भन्नुभयो, ‘प्रदेश सरकारलाई उक्त लक्षमा पु¥याउनका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई प्रभावकारी बनाउन अनुरोध गर्दछु ।’
अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले गरिबीको दर घटाउन र स्वरोजगार जनशक्तिको बृद्धि गर्नका लागि कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । गाउँपालिकाहरुले प्रदेश सरकारको वजेटलाई सदुपयोग गर्नुपर्ने भन्दै समन्वय प्रमुख नेपालीले परम्परागत कार्यशैलीबाट माथि उठेर योजना निर्माण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुखहरुले लक्षित वर्ग पहिचान गर्नमा समस्या उत्पन्न भइरहेको भन्दै यसवर्ष लक्षित वर्ग पहिचान गरेर मात्रै योजना चयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यक्रममा अधिकृत सुरेन्द्र भण्डारीले गर्नुभएको थियो ।