सर्लाही समाचारदाता
सर्लाही, पुस २४ गते । सर्लाहीका दुई मिटरब्याजीबाट पीडित भएकाहरु न्याय पाउने आशमा काठमाडौंबाट जिल्ला फर्किएका छन् ।
शीर्षस्त नेता र सुरक्षा अधिकारीले पीडकलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने आश्वासन दिएपछि सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव र सञ्जय साह रौनियारबाट पीडित भएकाहरु घर फर्किएका हुन् ।
बिहीवार विहान जिल्ला फर्किएका पीडितहरु कानुन व्यवसायीसँग समन्वय गरी प्रहरीमा मुद्दा दायर गर्ने तयारीमा जुटेका छन् । मिटरब्याजी यादव र रौनियारबाट ऋण लिएर पीडित भएकाहरुले ऋण चुक्ता गर्दा पनि कपाली तमसुक फिर्ता नगरेको, दृष्टिबन्धक राखेको जग्गा साहुले आफू खुशी विक्री गरेको जस्ता गुनासो गरेका छन् ।
शीर्षस्त नेताहरु र सुरक्षा अधिकारीले आफूहरुको तर्फबाट न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आफूहरु जिल्ला फर्किएको ईश्वरपुर नगरपालिका–५, का रविन्द्र कुशवाहाले जानकारी दिनुभयो । पीडितहरु काठमाडौं पुगेर गुनासो राखे लगत्तै मिटर ब्याजमा ऋण लगानी गरी धेरैलाई उठिबास लगाएको आरोपमा बरहथवा नगरपालिकाको सीतापुर निवासी रामबाबु राय यादव पक्राउ परिसकेका छन् ।
उनीविरुद्ध जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रमुख (एसपी) विश्वमणि पोखरेलले बताउनुभयो ।
ब्रह्मपुरी गाउँपालिका निवासी अर्का मिटरब्याजी सञ्जय साह रौनियार भने फरार छन् । भारतमा लुकिछिपी बसेको सूचना पाएपछि सर्लाही प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी रौनियारको पनि खोजी भइरहेको जनाएको छ ।