logo
२०८१ मंसिर ९ आईतवार



नेकपा प्रदेश ३ को संसदीय दलद्वारा नाम बाग्मती र राजधानी हेटौंडा पारित

प्रदेश |


नेकपा  प्रदेश ३ को संसदीय दलद्वारा नाम बाग्मती र राजधानी हेटौंडा पारित
तस्बिरः शिवकुमार काशी


राममणि दाहाल

हेटौँडा, पुस २५ गते । प्रदेश ३ को स्थायी राजधानी र नामको बारेमा छलफल गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको वैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती प्रस्ताव गर्ने भएको छ ।

एक सातादेखि जारी नेकपा संसदीय दलको मुख्यमन्त्री निवासमा शुक्रबार बसेको वैठकले प्रदेश रहने स्थान र प्रदेशको नाम एउटामात्र प्रदेश सभामा लैजाने निर्णय गरेको हो ।
नेकपाको निर्णयसँगै आइतबारबाट प्रदेश ३ ले औपचारिक रुपमा स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती पाउने भएको छ ।

नेकपाका संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती राख्ने गरी निर्णय भएको जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलले यही पुस २७ गते आइतबार स्थान र नामका बारेमा प्रस्ताव जाने र प्रदेश सभाले निर्णय गर्ने जानकारी दिनुभयो ।

वैठकपछि नेकपाका प्रदेश इज्चार्ज एवं प्रदेश सभाका सदस्य अष्टलक्ष्मी शाक्यले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती राख्ने गरी सहमति भएको सुनाउनुभयो ।
सचिवालयले गरेको निर्णयपछि आएका विमतीमा आवाजले पार्टीलाई पनि पाठ सिकाएको बताउँदै उहाँले पार्टीको निर्णय मान्नुभको विकल्प छैन भन्नुभयो ।

पार्टीका केन्द्रीय नेताहरुले प्रदेशको स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती हुनु पर्छ भन्दै दोश्रो पटक निर्देशन दिएपछि बिहीबारबाट पुनः वैठक वसेको हो ।
यसअघि नेकपाको सचिवालय वैठकले प्रदेशको राजधानी हेटौँडा र नाम वागमती प्रदेश राख्न नेकपा प्रदेश कमिटी र प्रदेश संसदीय दललाई दिएको निर्देशन दिएको थियो ।
नेपालको संविधानमा प्रदेश सभाको दुई तिहाइ बहुमतबाट प्रदेशको स्थायी राजधानी र नाम तोक्नुपर्ने व्यवस्था रहेको छ ।

११० प्रदेश सभा सदस्य रहेको प्रदेश ३ मा दुई तिहाइका लागि ७४ जना भए प्रदेश सभाको सदस्यले पक्षमा मतदान गरेमा प्रदेशको स्थायी राजधानी र नाम तोक्न सकिने छ । प्रदेश सभामा नेकपाको मात्र ८० प्रदेश सभाका सदस्य रहेका छन् ।
नेकपा संसदीय दलको निर्णयसँगै प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती हुने निश्चित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?