राजन रावत
सिमकोट, पुस २५ गते । हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन चार दिन देखि बन्द हवाई सेवा सुचारु गर्न हिउँ फाल्ने काम शुरु भएको छ ।
शुक्रबार मौसममा सुधार आएसंगै दिउँसोबाट सिमकोट बिमानस्थलमा जमेको हिउ फाल्ने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताउनु भयो ।
बिमान स्थलमा जमेको पाँच इन्च हिउँ फाल्न नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, कर्मचारी, सिमकोट गाउँपालिका, एयरलायन्स मिलेर काम भएको उहाँले जनाउनुभयो ।
बिमानस्थलको हिउँलाई बेल्छा, फ्याउरो, बोरामा बोकर फाल्ने काम भइरहेको छ । त्यो संगै गाडीको पनि प्रयोग गरिएको छ । हिउँ फाल्ने कार्य सकिएमा शनिबार दिउँसोसम्म हवाई सेवा सुचारु हुन सक्ने बिमानस्थलले जनाएको छ । गत मंगलवार बिहानैबाट हिमपात भएपछि बिमानस्थलमा पाँच इन्चभन्दा बढी हिउँ जम्दा हवाई सेवा बन्द आएको हो ।
बिमानस्थलमा पाँच इन्च हिउँ जमेको कारण बिमान अबतरण गर्ने अबस्था छैन । बिमानस्थल सबै सेताम्मे रहेको छ । रन वे र एप्रोन पुरै हिउँले ढाकिएपछि उडान हुन सकेको छैन । यसले गर्दा आन्तरिक पर्यटकहरु, जिल्ला बाहिर जाने अत्याबश्यक काम परेका यात्रुहरु र जाडोमा तराई झर्ने हुम्लाबासी सिमकोटमा थन्किएको उद्योग बाणिज्य संघका बिमानस्थल प्रतिनिधि टेक बहादुर रोकायाले बताउनुभयो ।
उपभोग्य सामानको अभाब
हिमपातको कारण चार दिनसम्म लगातार हवाई सेवा बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्य सामानको अभाब भएको ब्यापारी सरोज रावतले बताउनुभयो । हुम्लामा यी सामानहरु नेपालगंज र सुर्खेतबाट हवाई जहाजहरुमा ढुवानी भएर आउने गर्छन् । तेल, साबुन, मसला, चिउरा, चिनी लगायतका दैनिक उपभोग्य सामानको अभाब सुरु भएको उहाँले जनाउनुभयो । त्योसंगै जाडो महिनामा हरियो तरकारी पनि सबै नेपालगंज र सुर्खेतबाट जाने चार दिनसम्म हवाई सेवा सुचारु नभएको कारण त्यो पनि बजारमा पाउन छोडेको छ ।