logo
२०८१ मंसिर १३ बिहीवार



पर्सा निकुञ्जको हात्तीले मच्चायाे आतङ्क, स्थानीय रातभर अनिदो

प्रदेश |


पर्सा निकुञ्जको हात्तीले मच्चायाे आतङ्क, स्थानीय रातभर अनिदो
तस्वीर साभार ः सुरेन्द्र तितुङको फेसबुक


शिबकुमार काशी
हेटौँडा, माघ १ गते । पर्सा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीले आतंक मच्चाउन थालेपछि मध्यवर्ती क्षेत्रका गाउँका बासिन्दाहरु रातभर अनिदो बस्न बाध्य भएका छन् ।
मनहरी गाउँपालिका वडा नं २ स्थित ठाडोखोला र गोगनघारी क्षेत्रका दुई सय घरपरिवार जंगली हात्तीका कारण आक्रान्त बनेका हुन् । स्थानीय अर्जुन रुम्बा र नारायण रुम्बाको घर गए राति जंगली हात्तीले भत्काएपछि गाउँलेहरु आक्रान्त बनेको मनहरी गाउँपालिका वडा नं २ का वडाध्यक्ष आनन्द घलानले बताउनुभयो । अर्जुन र नारायणको घर भत्काएर हात्तीले अन्नपात र खाद्यान्न खाएको थियो
‘राती सक्रिय रहने जंगली हात्ती दिनभर जंगल क्षेत्रमा लुक्नेगरेको छ’, वडाध्यक्ष घलानले भन्नुभयो–‘निकुञ्ज प्रशासनलाई जानकारी गराउँदा समेत नियन्त्रणमा ल्याउन सकिएको छैन ।’ दिउँसोको समयमा निकुञ्जका सुरक्षाकर्मी आउने गरेपनि राति गाउँलेहरुले आगो बालेर हात्ती धपाउने गरेको उहाँले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणबाट बच्नका लागि उपभोक्ताहरु नै सचेत हुनुपर्ने पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ बताउनुहुन्छ । जंगली हात्तीलाई पुनः बासस्थानमै फर्काउनका लागि प्रयत्न भइरहेको भन्दै अध्यक्ष तितुङले भीडभाड जम्मा गर्ने र हात्तीलाई जिस्काउने काम गर्न नहुने बताउनुभयो ।
तीन दिनअघि मनहरी गाउँपालिका ३ मा ८० बर्षीया बृद्धलाई जंगलमा आक्रमण गरी मारेपछि जंगली हात्ती वडा नं २ तर्फ लागेको स्थानीयबासिन्दाले बताएका छन् । मनहरी गाउँपालिकाको वडा नं २, ३ र ४ का वडाबासी हात्तीबाट आक्रान्त बनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?