बेलिना थापा
लमजुङ, माघ २ गते । हिमाली जिल्ला मनाङमा बिहीबार बिहानबाट निरन्तर हिमपात भइरहेको छ । मनाङका सबै गाउँवस्तीसम्म हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । स्थानीयका अनुसार बिहान एक बजेबाट निरन्तर हिमपात भइरहेको छ ।
हिमपातपछिको चिसोले बाहिर निस्कन सकेका छैन । मनाङ ङिस्याङ गाउँपालिका एक पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार यसअघि परेको हिउँमा पुनः बिहीबार हिउँ थपिएको छ । यसअघिको हिउँ एक फीट रहेको र बिहीबार एक फीट थपिएर दुई फीट बाक्लो भएको उहाँले बताउनभुयो । ‘बिहानैदेखि हिमपात भएको छ । चिसो सहि नसक्नु छ । बाहिर निस्कन गाह्रो छ’ उहाँले भन्नुभयो, ‘आउजाउ गर्ने बाटो भरी हिउँ छ । सवारी साधन चल्न सकेको छैन ।’
मनाङस्थित सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक रमेश भुवाजीका अनुसार दिनैभर हिमपात भयो । बेलुकीपख पानी पर्ने र हावाहुरी चल्ने गरेको थियो । चिसोका कारण जिल्लाको जनजीवन कष्टकर बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘हिमपातले चिसो बढायो । बाहिर निस्कन सक्ने अवस्था छैन । भित्रै हिटर र आगो बालेर बस्नुपर्ने बाध्यता छ । चिसोले मानिस आवातजावत गरेका छैनन् । पर्यटक पनि देखिएको छैन ।’
प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार विहानैबाट हिमपात भएको हो । दिउँसो केही समय रोकिएर पानी आउने र हावाहुरी चलेपनि पुनः साँझपख हिमपात भएको हो । उहाँले भन्नुभयो–‘केही घण्टा विराएर हिमपात भयो । चिसोले बसि नसक्नु बनाएको छ । सबै घरभित्रै छन् । बाहिर निस्कन सक्ने अवस्था छैन ।’
उहाँका अनुसार ५ दिनदेखि नेपाल टेलिकमको टेलिफोन र नेटवर्क अवरुद्ध छ । टेलिकमलाई खबर गर्दा सोलार प्यानलमा हिउँ जमेको र अफ्टिकल फाइबर चुडिएको भन्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘हिमपातको समयमा विभिन्न घटना दुर्घटना हुन सक्छ । तत्काल उद्दार गर्नुपर्ने हुन्छ । यहाँ टेलिफोन सेवा छैन । ठाउँठाउँमा सम्पर्क गर्न सकिएको छैन ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक ब्रिजबहादुर गुरुङका अनुसार हिमपातपछि पर्यटक गन्तब्यमा पुग्न सकेका छैनन् । पर्यटकबीच बाटोमै रोकिएका छन् । बिहीबार कुनै पर्यटक आउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘हिमपात भइरहेको छ । यो समयमा पर्यटकलाई हिँडडुल गर्न गाह्रो हुन्छ भनेर चेकपोष्टमा खबर गरेर पर्यटकलाई रोक्न भनेका छौं ।’ उहाँका अनुसार मनाङमा रातको समयमा माइनस १५ डिग्री सेल्सियस थियो । विहान मानइनस आठ डिग्री थियो । दिउँसो माइनस ८ डिग्री सेल्सियस पुगेको थियो ।