गोकर्ण दयाल
बैतडी, माघ २ गते । बिहीबार विहान बैतडीमा २२ औं राष्ट्रिय भूकम्प दिवस मनाउने तयारी गरिरहेका बेला बझाङमा भूकम्प गएको छ । बैतडीमा पूर्व अभ्यास गरेर भूकम्प दिवस बनाउने तयारी गरिरहेका बेला संयोगले बिहीबार बझाङमा ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का बैतडीको सिगास गाउँपालिका र पुरचौडी नगरपालिकासम्म मशसुस गरिएको थियो । बिहीबार विहान ५ः ५८ बजे बझाङको तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । भूकम्पले कुनै मानवीय क्षति भने नभएको केन्द्रले जनाएको छ ।
बझाङमा विहानै भूकम्प गए पनि जिल्ला विपद् व्यवस्थापन समिति बैतडीको अगुवाईमा भूकम्प दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै भूकम्पपछि खोज तथा उद्धार कार्य कसरी गर्ने ? भन्ने विषयमा पूर्व अभ्यास गरिएको छ ।
‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र सम्बृद्धिको आधार’ नारासहित २२औं राष्ट्रिय भूकम्प दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय बैतडी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना , रेडक्रस सोसाईटी बैतडी र जिल्ला स्वास्थ्य कार्यालय बैतडीले खोज तथा पूर्व अभ्यास गरेको हो ।
दशरथ चन्द नगरपालिका–२, देहिमाडौं खेल मैदानमा गरिएको खोज तथा उद्धार पूर्व अभ्यास कार्यक्रममा पूर्वाधार विकास कार्यालय बैतडीले भूकम्प सम्बन्धी जनचेतना मूलक कक्षा सञ्चालन गरेको छ ।
दिवसको अवसरमा सुदूर पहाडका बैतडी, दार्चुला र बझाङ जिल्ला हेर्दै आईरहेको पूर्वाधार विकास कार्यालय बैतडीले सुदूरपश्चिममा भूकम्प प्रायः बैतडी दार्चुला केन्द्रबिन्दु बनाएर जाने गरेको बताएको छ ।
पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख ईन्जिनियर जगतप्रसाद जोशीले भूकम्प दिवसकै दिन बझाङमा भूकम्प गएको बताउँदै यो क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको बताउनुभयो । अहिलेसम्म स–साना पराकम्पन गए पनि ५÷६ रेक्टर स्केलको भूकम्प आए ९० प्रतिशत घर भूकम्प थेग्न सक्ने खालका नभएको ईन्जिनियर जोशीले बताउनुभयो ।
भूकम्पप्रतिरोधी घर बनाउने विषयमा जनचेतनामूलक कक्षा संञचालन गर्दै पूर्वाधार विकास कार्यालय बैतडीले नौ सय वर्गफिटमा घर बनाउँदा तीन तला भन्दा बढी हुँनुहुँदैन भनेको छ । त्यसै गरि विमको चौडाई १२ ईन्च र लम्बाई १५ फिट हुनुपर्छ । डण्डी चार÷पाँच सुत भन्दा कम हुनुहुँदैन । अढाई सुतको रिङ तीन ईन्च मोडिकै हुनुपर्छ । बिम तीन फिट गहिरो गाढेकै हुनुपर्छ भन्दै प्राविधिक कुरा जनचेतनाका रुपमा फैलाउने तयारी गरेको छ ।
नौसय वर्ग फिटमा घर बनाउँदा सबैले यति कुरा बुझ्नु पर्ने भन्दै पूर्वाधार कार्यालयका प्रमुख समेत रहनु भएका ईन्जिनियर जोशीले नौ सय वर्गफिट ठूलो क्षेत्रफलमा घर बनाउँदा ईन्जिनियरको अनिवार्य सल्लाह लिनु पर्ने बताउनुभयो ।