नागेन्द्रकुमार कर्ण
जलेश्वर, माघ ४ गते । मधेश आन्दोलनको थालनी भएको दिनको स्मरणमा शनिबार विहानै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको शहीद वाटिकाको वृहत सरसफाई गरिएको छ ।
मधेश आन्दोलन तथा विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा तयार गरिएको सो शहीद वाटिकामा शनिबार विहानै जलेश्वरका युवा, विद्यार्थी पुगेर सरसफाई गरेका हुन् ।
जलेश्वरका युवासम्मिलित सेभ जलेश्वर, प्राज्ञिक विद्यार्थी परिषद, सामुदायिक प्रहरी, तराई मानवअधिकार रक्षक सञ्जाल, सञ्चारकर्मीको टोली पुगेर शहीद वाटिकामा सरसफाई गरेका थिए ।
सरसफाईपश्चात् जलेश्वर नगरपालिकाका् बारुणयन्त्रले शहीद स्तम्भसहित वाटिकामा पानी छर्केर सफा गरेको थियो ।
शहिद बाटिकामा विभिन्न समयमा शहीद हुनुभएका रामनारायण मिश्र, शिवचन्द्र मिश्र, केशव कोइराला, मिथिलेश दुब्बे, रामविलास ठाकुर, कयूम दफालीको नाम अंकित गरिएको छ । पछिल्लो मधेश आन्दोलनमा शहीद हुनुभएका रोहन चौधरी, रामविवेक यादव, रामशिला ठाकुर, गणेश चौधरी, अमित ठाकुर, वीरेन्द्र बिच्छाको अर्धकदको शालिक राखिएको छ ।
मधेश आन्दोलनमा शहीद भएकाहरुको अर्धकदको शालिक प्रदेश नं. २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले जलेश्वर नगरपालिकाको सहयोगमा निर्माण गराएर वि.सं.२०७५ कात्र्तिक २९ गते उद्घाटन गराउनुभएको थियो । वि.सं. २०६३ साल माघ ४ गते सिरहाको लहानमा रमेश महतोको हत्या भएपछि मधेश केन्द्रित दलले उक्त दिनलाई बलिदानी दिवसको रुपमा सम्झिदै आएको छ ।