logo
२०८१ मंसिर १३ बिहीवार



मरम्मत गर्नुपर्ने माग राख्दै बाटो बन्द

प्रदेश |


मरम्मत गर्नुपर्ने माग राख्दै बाटो बन्द


नागेन्द्रकुमार कर्ण
जलेश्वर, माघ ४ गते । बाटो मरम्मतको माग गर्दै जलेश्वर नगरपालिका वडा नं. ८ बजराहीका युवाहरुले जलेश्वर–रौजा जाने सडकमा बेन्चहरु राखेर बाटो बन्द गरेका छन् ।
जलेश्वर बजराहीको सडकमा गिलो माटो राखेको कारणले अलिकति पनि पानी परेपछि सडकले दुर्घटना बढाएको भन्दै बजराहीका युवाहरुले बाटो बन्द गरेर सडक मरम्मतको माँग गरेको युवा दिपुकुमार कापरले जानकारी दिनुभयो ।
युवा कापरले सडक मरम्मत नगर्नाले सडकमा दिनहुँ दुर्घटना बढेको बताउनुभयो । उहाँले शुक्रबार मात्रै वडाका दुईजना मोटरसाइकलबाट लडेर घाइते भएपछि सडक बन्द गर्नुपरेको जानकारी दिनुभयो ।
बिहानै १० बजेदेखि सडकबन्द भएपनि वडाध्यक्ष तथा जलेश्वर नगरपालिकाका कुनै पनि पदाधिकारीहरुले चासो नराखेको प्रति आक्रोश देखिएका युवाहरुले सडक मरम्मत नभएसम्म सडक नखोल्ने अडान राखेका छन् । सडक बन्द भएपछि जलेश्वरबाट रौजा जानेहरुले वैकल्पिक बाटो प्रयोग गर्नुपरेको छ ।
जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले आफु काम विशेषले काठमाण्डौंमा रहेको र बाटो बन्दको जानकारी भएको वताउनुहुदै आफुले चाँडै नै सो सडक मरम्मत गर्न निर्देशन दिइसकेको बताउनुभयो ।
परिक्रमा सडकको रुपमा रहेको उक्त सडकखण्ड निर्माणको क्रममा रहेको र ठाउँ ठाउँमा मरम्मत सम्भार नभएकोले जलेश्वरदेखि रौजा जाने सडकको दर्जनौ ठाउँमा खाल्डाखुल्डीहरु रहेका छन् । असारको अन्तिम साता बाढी जाँदा भत्काएका सडक समेत मरम्मत नहुँदा यस सडकमा दुर्घटना बढाएको बजराहीका अर्का युवा सञ्जीतकुमार मण्डलले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?