logo
२०८१ मंसिर १३ बिहीवार



हराएको तीन वर्षपछि दत्तात्रयको मूर्ति फेला

प्रदेश |


हराएको तीन वर्षपछि दत्तात्रयको मूर्ति फेला
तीन वर्षअघि हराएको चन्दननाथको दत्तात्रयको मूर्ति सार्वजनिक गरिंदै । तस्बिर –नेत्र शाही


नेत्र शाही
खलङ्गा, माघ ६ गते । जुम्लाको चन्दननाथ मन्दिरबाट हराएको दत्तात्रयको मूर्ति भेटिएको छ । चन्दननाथ नगरपालिका वडा नं १ दानसाँघुमा रहेको स्थानीय खेतको आलीमा बेवारिसे अवस्थामा मूर्ति भेटिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयको सूचनाको आधारमा खेतको आलीमा मूर्ति भेटिएको हो ।
वि.सं २०७३ साल मङ्सिर ११ गते राती हराएको १८ किलोको चाँदीको मूर्ति भेटिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले पुष्टि गर्नुभयो । उहाँका अनुसार सोमबार विहान साँढे ९ बजे स्थानीय उमेश देवकोटा, लोकेन्द्र हमाल, लोकदर्शन देवकोटाले जांै लगाएको खेतमा पानी हाल्न गएको समयमा मूर्ति देखेपछि स्थानीय अगुवा दयादत्त हमाललाई खबर गर्नुभएको थियो । हमालले चन्दननाथ मन्दिरको मूर्ति हुन सक्ने प्रहरीलाई खबर गरेपछि मूर्ति पत्ता लागेको हो । मूर्ति भेटिएपछि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेसहित प्रहरी नायव उपरीक्षक लालबहादुर धामीको टोली मूर्ति पाइएको स्थलमा पुगेर मुचुल्का उठानुभएको थियो ।
प्रनाउ धामीका अनुसार प्रहरी सर्च अनुसार लागूऔषध खानतलास गर्ने अभियान चलिरहेको थियो । प्रहरीले अनुसन्धानका लागि घर सर्च गर्न थालेपछि मूर्ति राखेको व्यक्ति डराएर दानसाँघु पुलदेखी एकसय मिटर टाढा बेवारिसे फालिएको हुनसक्ने बताएको छ ।
मूर्ति भेटिएपछि बाजागाजासहित बजारमा घुमाइएको छ । स्थानीयहरुले मूर्ति पाएपछि खुशीयाली मनाएका छन् । स्थानीयले चन्दननाथ बाबा भगवानले मूर्तिचोरलाई टिक्न नदिएर फिर्ता भएको भन्दै खुशीयाली मनाएका हुन् । मूर्तिचोरको विषयमा थप अनुसन्धान भईरहेको छ ।
यसैगरी, प्रहरीले दुईदिनदेखि गाउँमा पनि सर्च अभियान थालेको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले थप्नुभयो । उहाँका अनुसार गाउँ नै सर्च गरेपछि कसैले फालेको हुन सक्ने अनुमान गरिएको छ । प्रजिअ बञ्जाडेले यो अप्रेशनमा सहयोग गर्ने सबै जुम्लाबासीलाई धन्यवाद समेत दिनुभयो । उहाँले माघ १५ गते धार्मिक विधि अनुसार मूर्ति प्रतिस्थापन समेत गरिने जानकारी दिनुभयो ।
वि.सं २०७३ साल मङसिर ११ गते जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको थियो । दत्तात्रेय भगवानको मूर्तिसहित सानातिना गरेर १४ वटा मूर्ति चोरिएका र केही भेटिएका थिए ।
दत्तात्रेयको मूर्तिको शिरमा सुनको मुकुट र अन्य भाग चाँदीले बनेको थियो । मुख्य मन्दिरको पादुकाको अघि कमलको आसन बनाएर दत्तात्रेय भगवान्को मूर्ति राखिएको थियो । सोसहित तामा र पितलले बनेको बुद्धको मूर्ति र अन्य मिश्रित धातुले बनेको कृष्ण, विष्णु, गोपाल, अप्सरालगायतका देवीदेवताको मूर्ति चोरी भएको थियो । यस अघि हराएको केही मूर्ति देपालगाउँको जंगलमा भेटिएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?