logo
२०८१ मंसिर १३ बिहीवार



क्रसिङ उद्योगलाई सस्तोमा उखु बेच्दै किसान

प्रदेश |


क्रसिङ उद्योगलाई सस्तोमा उखु बेच्दै किसान



लक्ष्मण पौडेल

भैरहवा, माघ ९ गते । नेपाल सरकारले छ वर्षअघि प्रोत्साहनस्वरूप उपलब्ध गराउने भनेको अनुदान रकम कपिलवस्तुका उखु कृषकले अझैसम्म पनि पाएका छैनन् । अनुदान रकम नपाउँदा निराश बनेका उखु किसानले फेरि आन्दोलनको तयारीसमेत थालेका छन् । कपिलवस्तुका किसानले दुई करोड ४८ लाख २३ हजार रुपियाँ उखुको भुक्तानी नपाएको बताएका छन् । आर्थिक वर्ष ०७१÷७२ मा कपिलवस्तुका पश्चिमी भेगका किसानले महालक्ष्मी सुगर मिललाई दिएको उखुमा प्रतिक्विन्टल रु. दुई हजार ५०० रुपियाँका दरले सरकारबाट पाउने अनुदानको रकम हालसम्म नपाएको किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले जानकारी दिनुभयो । किसानले रकम नपाए फेरि काठमाडौँ गएर आन्दोलन गरिने चौधरीले बताउनुभयो ।
यसअघि पुसको तेस्रो साता कपिलवस्तु किसान सङ्घले इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सङ्घीय सरकारको गृह मन्त्रालय, अर्थ मन्त्रालय, कृषि मन्त्रालय, उद्योग मन्त्रालय र महालक्ष्मी सुगर्स मिललाई ज्ञापनपत्र बुझाएको थियो । कपिलवस्तुका उखु किसानले जिल्लामा रहेको महालक्ष्मी सुगर्स मिललाई आफ्नो उखु बिक्री गरेका थिए । नेपाल सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच सोही समयमा विवाद भएको थियो । सरकारले प्रतिक्विन्टल उखुको मूल्य ४६१ दिने घोषणा गरे पनि कपिलवस्तुमा मिल सञ्चालकले प्रतिक्विन्टल ४३६ मात्र दिएका थिए । सरकारले २५ रुपियाँ उखु किसानलाई अनुदान दिने भनेको थियो । सरकारले दिने अनुदानबापतको रकम समयमा नै नदिँदा किसानहरू हरेक वर्षजसो आन्दोलित हुनुपरेको चौधरीले बताउनुभयो । उहाँका अनुसार अनुदानबाहेक मिल सञ्चालक वीरेन्द्र कनौडियासँग पनि साढे दुई करोड रुपियाँ लिन बाँकी छ । कृषि मन्त्रालयमा धाउँदासमेत कहिले अर्थ मन्त्रालयबाट रकम निकासा नभएको त कहिले मिल मालिकले कागजपत्र नपठाएको भन्दै दुःख दिने काम भएको छ, उहाँले भन्नुभयो । मिल सञ्चालक वीरेन्द्र कनौडिया प्रदेश ५ का सांसदसमेत हुनुहुन्छ ।
कपिलवस्तुको पश्चिमी क्षेत्रमा सञ्चालित महालक्ष्मी सुगर मिल दुई वर्षदेखि भने अन्यत्रै सरेपछि यहाँका उखु किसान थप मारमा परेका छन् । २०७४ सालको उखुको मौसममा सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसिङ (सखर) उद्योगले पाएका छन् । सखर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि उखु किसान सरोकारवाला गुहार्न थालेका छन् । उखु बेच्ने मौसममा सरकारले तोकेको मूल्य जिल्लाका उखु किसानले पाएका छैनन् । सखर उद्योगले मनपरी मूल्य लिएको किसान सङ्घका अध्यक्ष चौधरीले बताउनुभयो । कपिलवस्तुमा रहेका करिब तीन सय सखर उद्योगले मनपरी ढङ्गबाट उखुको मूल्य दिएको सङ्घका अध्यक्ष चौधरीको भनाइ छ । उखु खेतीबाटै जीविकोपार्जन गर्दै आएका किसान मिल विस्थापित भएपछि समस्यामा परेका छन्, उहाँले भन्नुभयो ।
कपिलवस्तुमा उखु कृषक करिब आठ हजारको हाराहारीमा छन् । जिल्लामा एक मौसममा २० लाख क्विन्टल उखु उत्पादन हुने गरेकामा सुगर मिल स्थानान्तरण भएपछि पाँच लाख क्विन्टल मात्र उत्पादन हुने गरेको छ । सरकारले प्रतिक्विन्टल ५३६ रुपियाँ मूल्य तोके पनि उखु किसानले त्यसभन्दा निकै कम मूल्यमा बेच्ने गरेको उखु किसान बताउँछन् ।
शिवराज नगरपालिका पिपरीमा रहेको शिवचन्दन गुड उद्योगले चार सयमा प्रतिक्विन्टल खरिद गरिरहेको जनाएको छ । सुगर मिल स्थानान्तरण भएसँगै सखर (भेली) गुड उद्योग भने फस्टाएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?