जयकृष्ण यादव
इनरुवा, माघ १९ गते । सुनसरीको रामधुनी नगरपालिका–२ मा बस र (माईक्रो) ठोक्किएर भएको दुर्घटनामा मुत्यु भएका पाँच जनाको सनाखत भएको छ । आईतबार विहान पूर्व पश्चिम राजमार्ग अन्र्तगत सुनसरीको झुम्का इनरुवा सडक खण्डको रामधुनी तित्रिबनमा हाईस र बस आपसमा ठोकिंदा पाँच जनाको मृत्यु भएको हो ।
पूर्वबाट काठमाण्डौं हिडेको बा ५ ख ३१५७ नम्बरको हाईस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा जुध्दा तीनजनाको घटनास्थलमै र थप दुईजनाको उपचारको क्रममा ज्यान गएको छ । उक्त दुर्घटनामा तीन जनाको अवस्था गम्भिर सहित १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा हायस चालक धादिङ बैरेनीका दीपक खड्का, माइक्रोमा सवार झापा, भद्रपुर–५ की ६८ वर्षीया डोलकुमारी कोईराला, श्रीमान् हेमराज कोईराला, झापा धरमपुरकी १८ वर्षीय गरिमा गौतम र झापा, भद्रपुर–७ का ४५ वर्षीय टंकप्रसाद काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
काफ्ले भूमिसुधार मन्त्रालयमा लेखाअधिकृतको रुपमा कार्यरत रहनुभएको थियो । उहाँको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोमा मृत्यु भएको थियो । घाइते गरिमा गौतम र काफ्लेको उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार तीनजना सहित १४ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
होमबहादुर कार्की र सावित्री राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी माइक्रोमा सवार झापा कचनकवलका २५ वर्षीय कृष्ण चौहान, काठमाडौं अनामनगरकी ७ वर्षीया अग्रिता श्रेष्ठ, सोही ठाउँकी २८ वर्षीया रमुना श्रेष्ठ, दमक ३ का ३० वर्षीय बमबहादुर बस्नेत, झापा चन्द्रगढीका १२ वर्षीय विनियस काफ्ले, झापा धरमपुरका ३७ वर्षीय होमबहादुर कार्की, मोरङ पथरीका ४९ वर्षीय डिल्लीराम बास्कोटा, झापा भद्रपुरकी ४१ वर्षीया तारा कुमारी राय, सोही ठाउँकी ३८ वर्षीया माया काफ्ले, ३५ वर्षीया साबित्रा राई र हायसका सह–चालक सोलुखुम्बुका २३ वर्षीय केदार बस्नेत घाईते भएका छन् ।