राजन रावत
सिमकोट, माघ २० गते । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा ग्याँसको बिक्री बढेको छ । लामो समयसम्म हिमपात भएको कारण दाउराको समस्या हुँदा महंगो ढुवानी भएर आएको ग्याँसको बिक्री बढेको हो ।
यसअघि आबश्यक परेको बेला मात्र ग्याँस चुल्हो प्रयोग गर्दै आउनु भएकी सिमकोट बजारकी मधु बस्नेतले हिमपातपछि दाउराको समस्या हुँदा ग्याँसको प्रयोग बढी गर्न थालेको बताउनुभयो । अब अरु बिकल्प नभएपछि महंगो भए पनि ग्याँसको प्रयोग गरिएको जनाउनुभयो । मुगुको गमगडीबाट सिमकोटसम्म खच्चडमा ढुवानी भएर आउने ग्याँसको सिलिण्डर सहित साढे १२ हजार मूल्य पर्ने गरेको छ । जब कि यातायात पुगेको स्थानमा प्रति सिलिण्डर ग्याँसको एक हजार ३५० रुपियाँ छ ।
मुगुको गमगडीबाड खच्चडमा पहिलो लटमा ४० सिलिण्डर ग्याँस ल्याएर बिक्री भएको ब्यापारी लोकेन्द्र शाहीले बताउनुभयो । यसअघि आधा दर्जन घरमा ग्याँस चुल्हो बल्ने भए पनि हिमपातको कारण यसको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको जानकारी उहाँले दिनुभयो । त्यति नै संख्याामा अरु पनि अर्डर आएकोले मुगुबाट फेरि ग्याँस सिलिण्डर ढुवानी गरेर ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
दाउराको झन्झटबाट मुक्ति पाउनका लागि पनि ग्याँस प्रयोग गर्नेको संख्या बढिरहेका बेला अहिले हिमपातको कारण दाउरा पाउनै छोडेपछि यसको प्रयोग गर्नेको संख्या पाँच दोब्बरले बृद्धि भएको शाहीले बताउनुभयो । यसरी ग्याँस चुल्होको प्रयोग गर्ने कार्यालय, ब्यापारी, होटेल ब्यबसायी र ब्यक्तिहरु पनि रहेका छन् । खाली सिलिण्डर ढुवानी गरेर ल्याउन कठिन भएपछि हुम्लामा ग्याँस महंगो भएको हो ।