logo
२०८१ मंसिर १३ बिहीवार



‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध अभियोग दर्ता

प्रदेश |


‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध अभियोग दर्ता
‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवलाई कारवाही गर्न माग गर्दै पीडितले शुक्रवार सदरमुकाम मलङ्गवामा निकालेको ¥याली । तस्बिर - जनार्जन खत्री



जनार्जन खत्री
सर्लाही, माघ २४ गते । ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादव विरुद्ध शुक्रबार सर्लाही जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ ।
ठगी तथा आपराधिक विश्वासघात सम्बन्धिको कसुरमा यादवमाथि अभियोगपत्र दर्ता भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आइतबारबाट थुनछेक वहस शुरु हुनेछ । यादवविरुद्ध जाहेरी दिने २८ जना जाहेरवालाको तर्फबाट २० करोड ४२ लाख ८० हजार ९५ रुपियाँ बिगो दावी गरिएको श्रेस्तेदार पौडेलले बताउनुभयो ।
यस्तै ‘मिटरब्याजी’ आरोपी यादवलाई कारवाही गर्न माग गर्दै पीडितहरुले शुक्रवार दिउँसो सदरमुकाम मलङ्गवामा ¥याली निकालेका छन् । यादवको अन्यायले उठिवास हुने अवस्था आएको भन्दै पीडितले सदरमुकाममा प्रदर्शन गरेका हुन् । उनीहरुले ¥याली पश्चात् प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीमार्फत् प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापनपत्र समेत बुझाई न्यायको माग गरेका हुन् ।
ऋण प्रवाह गर्दा कपाली तमसुक बनाई चर्को ब्याज असुली गरेको, ऋण लिँदा धितो राखेको जग्गा आफूहरु अर्का व्यक्तिलाई विक्री गरेको जस्ता गुनासो आएपछि बरहथवा नगरपालिकाको गङ्गापुर निवासी यादवलाई गत पुस २३ गते प्रहरीले पक्राउ गरेको थियो ।
यसअघि सर्लाहीकै मलङ्गवा निवासी अर्का ‘मिटरब्याजी’ आरोपी श्याम परदेशी भनिने श्यामकृष्ण साह पनि यही आरोपमा पक्राउ परेका थिए । उनी हाल पुर्पक्षमा कारागारमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?