logo
२०८१ मंसिर १३ बिहीवार



फुकोट जलविद्युत्का लागि जग्गा अधिग्रहण

प्रदेश |


फुकोट जलविद्युत्का लागि जग्गा अधिग्रहण


प्रेमराज सिम्खडा

कालीकोट, माघ २५ गते । कालीकोट जिल्लामा बन्ने फुकोट अर्धजलाशय जलविद्युत् आयोजना निर्माणस्थलको जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । सान्नीत्रिवेणी गाउँपालिका–३, लुइआँटा र रास्कोट नगरपालिका शान्तिघाटको बीचमा बन्ने ४८० मेगावाटको फुकोट अर्धजलाशय आयोजनाको डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेपछि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको आयोजना प्रमुख हीरामान वाइबाले वताउनुभयो ।
नेपाल सरकारको स्वामित्वमा रहेको विद्युत् उत्पादन कम्पनी लिमिटेडले २०७४ फागुनदेखि डीपीआर अन्तर्गत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनको काम गरिरहेको थियो ।
अब जग्गा अधिग्रहणको काम सुरु गरेको छ । सूचना प्रकाशन गर्दै आयोजनास्थल आसपासका क्षेत्रको जग्गा अधिग्रहण गर्ने काम सुरु गरेपछि स्थानीय पनि उत्साहित भएका छन् ।
सान्नीत्रिवेणी गाउँपालिकाको सिस्ने गडामा १६० मिटर अग्लो बाँध निर्माण गरिने अर्धजलाशययुक्त आयोजना १३.५ किलोमिटर सुरुङमार्फत भौतेगडामा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको आयोजना प्रमुख वाइबाले बताउनुभयो ।
‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने मूल नारासहित सुरु भएको उज्यालो नेपाल अभियानअन्तर्गत हिमाली जिल्ला कालीकोटमा अर्धजलाशय आयोजना निर्माण हुन लागेपछि युवापङ्क्तिमा निकै उत्साह छाएको स्थानीय अर्जुनप्रसाद भट्टराईले जनाउनुभयो । कम्पनीले तीनवटा पूर्ण स्वामित्वमा, दुईवटा भगिनी संस्थाअन्तर्गत र एउटा आफ्नो सेयर लगानीबाट छमध्ये पाँचवटा आयोजना कर्णाली प्रदेशमा सञ्चालन गर्ने जनाएको छ । परामर्शदाता संस्थाबाट विद्युत् गृह निर्माणका लागि भौगर्भिक अवस्थाको थप अध्ययन गर्न टेस्ट टनेलको काम भइरहेको छ ।
आयोजनाका लागि आवश्यक कर्मचारी आवास निर्माण तथा कार्यालय भवन निर्माणका लागि सान्नीत्रिवेणी गाउँपालिका–३, सिस्नेगडा रकुमा १३० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।
जलाशयबाट डुबानमा पर्ने एक हजार ५२ किसानको जग्गा अधिग्रहण गर्नका लागि सूचना भइसकेकाले अब कामले तीव्रता लिने आशा गरिएको छ । आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरिने बताइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?