सर्लाही समाचारदाता
सर्लाही, माघ २७ गते । सर्लाही जिल्ला अदालतले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
सोमवार न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले बरहथवा नगरपालिकाको गङ्गापुर निवासी यादवलाई १५ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिनुभयो । अदालतको आदेशपछि यादव सोमवार साँझ धरौटी रकम बुझाएर हिरासतमुक्त हुनु भएको छ ।
यादवविरुद्ध गत सुक्रवार सर्लाही जिल्ला अदालतमा ठगी कसुरमा अभियोगपत्र दर्ता भएको थियो । यादवबाट ऋण लिएकाहरुले ऋण लिँदा कपाली तमसुक बनाई चर्को ब्याज असुली गरेको र धरौटी राखेको जग्गा आफू खुशी बिक्री गरेको गुनासो गर्दै सङ्घीयका सरकारका मन्त्री तथा शीर्ष नेताहरु र सुरक्षा अधिकारीलाई भेट्न काठमाण्डौं पुगेपछि यादवलाई प्रहरीले गत पुस २३ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
ऋणीहरुले यादवलाई कारवाही गर्न माग गर्दै पटक–पटक प्रदर्शन गर्दै आएका थिए । यस्तै सर्लाहीमा अर्का ‘मिटरब्याजी’ आरोपी त्रिभुवननगर निवासी सञ्जय साह रौनियारलाई पक्राउ गरी कारवाही गर्न माग गरिरहेका छन् ।
यसअघि जिल्लाका अर्का खुङखार ‘मिटरब्याजी’ आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह भने केही महिनाअघि पक्राउ परी अदालतको आदेश अनुसार पूपक्षमा कारागारमा रहेका छन् ।