टीकाबहादुर बस्नेत
दाङ, माघ २९ गते । प्रदेश ५ सरकारले प्रदेशको तेस्रो स्थापना उत्सवका रुपमा मनाउन लागेको जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ दाङले बुधबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको तेस्रो स्थापना दिवस ‘समृद्ध प्रदेश खुसी जनता’ भन्ने मूल नाराका साथ प्रदेशभर नै उत्सवका रुपमा मनाउन लागेको जानकारी दिनुभएको हो ।
यही फागुन २ गतेदेखि फागुन १२ गतेसम्म प्रदेशभर नै विभिन्न कार्यक्रम गरेर तेस्रो स्थापना दिवस मनाउन लागिएको भन्दै मन्त्री केसीले स्थापना दिवसको तयारीमा जुट्न प्रदेशवासीलाई आह्वान गर्नुभयो । स्थापना दिवसको अवसरको फागुन २ गते ‘समृद्ध प्रदेश खुसी जनता’ शीर्षकमा कविता, वक्तृत्वकला वा गजल प्रतियोगिताको आयोजना गर्न लागेको भन्दै मन्त्री केसीले कार्यक्रमको संयोजन सामाजिक विकास मन्त्रालयको रहने जानकारी दिनुभयो ।
त्यसैगरी फागुन २ गते नै सामाजिक विकास मन्त्रालयको संयोजन एवं निर्देशनमा प्रदेशको अस्थायी राजधानी बुटवल र प्रदेशका सम्पूर्ण जिल्ला सदरमुकामहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको मन्त्री केसीले जानकारी दिनुभयो । मन्त्री केसीका अनुसार फागुन २ गते नै प्रदेशका सम्पूर्ण जिल्ला सदरमुकामहरुमा सरसफाई कार्यक्रम, सम्पूर्ण मन्त्रालय र कार्यालय वरिपरि कर्मचारीहरुद्वारा सरसफाई र प्रदेशस्थित सबै सरकारी, सामुदायिक संघसंस्था, वित्तीय संघसंस्था एवं आम नागरिकहरुद्वारा दीपावली गरेर स्थापना दिवस मनाउन लागिएको छ ।
स्थापना दिवसकै अवसरमा फागुन ३ गते बिहान ११ वजे बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा आमसभा गरिन लागिएको भन्दै मन्त्री केसीले उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ३५ जना व्यक्तिहरुलाई सम्मान गरिने जानकारी दिनुभयो । त्यसैगरी फागुन ४ गते लुम्विनी क्षेत्रमा बृक्षरोपन गरिन लागिएको बताउँदै मन्त्री केसीले भन्नुभयो, ‘लुम्विनी विकास कोष समेतको समन्वयमा लुम्विनी क्षेत्रभित्र हिउँदे फलफूलका बिरुवा वृक्षरोपण गर्न लागिएको छ । यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा प्रबन्ध मिलाउने छन् । बृक्षरोपन कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत सहभागिता रहने छ ।’
‘प्रदेश एक्स्पो’ नेपालका लागि नयाँ प्रयोग
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केसीले स्थापना दिवसको अवसरमा प्रदेश ५ सरकारले स्थापना दिवसकै अवसरमा दाङको बेलझुण्डीमा फागुन १० गतेदेखि फागुन १२ गतेसम्म सञ्चालन गर्न लागेको ‘प्रदेश एक्स्पो’ मुलुकका लागि नयाँ प्रयोग भएको बताउनुभयो । स्थापनाका २ वर्षभित्र प्रदेश सरकारले सम्पादन गरेका कार्यहरु जनतालाई जानकारी दिने उद्देश्यले सञ्चालनमा ल्याइएको भन्दै मन्त्री केसीले ‘प्रदेश एक्स्पो’ लाई मन्त्रालयहरुका काम कारबाहीहरुको मूल्याङ्कन गर्ने अवसरका रुपमा प्रदेश सरकारले लिएको जानकारी दिनुभयो ।
जनता, सरकार र फौजका गतिविधि एउटै स्थानबाट प्रदर्शन गर्न ‘प्रदेश एक्स्पो’ फलदायी हुने भन्दै मन्त्री केसीले यसलाई अन्य मेला महोत्सवजस्तो हल्का रुपमा नबुझ्न आग्रह गर्नुभयो । प्रदेश ५ सांस्कृतिक रुपले मुलुककै उत्कृष्ट प्रदेश भएको भन्दै मन्त्री केसीले ‘प्रदेश एक्स्पो’ मा प्रदेशभरका सम्पूर्ण सांस्कृतिक झलकहरु प्रस्तुत हुने जानकारी दिनुभयो ।
तीनदिने ‘प्रदेश एक्स्पो’ मा प्रदेशभित्रका १२ वटै जिल्लाका १ सय ९ वटा स्थानीय तहको पहिचान झल्काउने उत्पादन राखिने भन्दै मन्त्री केसीले जसका लागि सरकारी गतिविधिका लागि ५० वटा र निजी क्षेत्रका लागि ५ सय स्टल बनाउने कार्यको थालनी भएको जानकारी दिनुभयो ।