हुम्ला समाचारदाता
सिमकोट, फागुन १ गते । देश कै जेठो पत्रिका गोरखापत्र दैनिक कोहलपुर संस्करणका रुपमा बाँकेको कोहलपुरबाट प्रकाशन सुरु भएको पहिलो दिन बिहान ८.०० बजे हुम्लाबासीको हातहातमा पुगेको छ ।
काठमाडौंबाट प्रकाशन भएर आउने पत्रिकाले दुई वटा हवाई मार्ग प्रयोग गर्दा दुई दिन लाग्ने भए पनि कोहलपुरबाट गोरखापत्र प्रकाशित भएपछि नेपालगंजबाट सिमकोट सिधै हवाई मार्गबाट आएका कारण हुम्लाबासीको हातमा सोही दिन बिहानै पत्रिका पुग्न सफल भएको हो ।
मुलुकको जेठो अखबार गोरखापत्र दैनिक पहिलो पटक दुर्गम हिमाली जिल्लामा बिहान ८.०० बजे पढ्न पाउँदा खुसी लागेको सिमकोट गाउँपालिका वडा नम्बर ६ का पालु रावतले बताउनुभयो । माघ २९ गतेसम्म पत्रिका प्रकाशन भएको दोस्रो दिनमा मात्र पढ्न पाइने भए पनि कोहलपुर प्रकाशन भएको पहिलो दिनमै विहीवार बिहान ८.०० बजे पत्रिका पढ्न सफल भएको हो ।
धेरै सूचना जानकारी आधिकारिक रुपमा आउने गोरखापत्र यसरी बिहानै पढ्न पाउन हुम्लाबासीका लागि सौभाग्य भएको उहाँले बताउनुभयो ।
पत्रिका प्रकाशन भएको दिनमै यति छिटो पढ्न पाउदा स्थानीयले पनि सूचना समयमा पढ्न पाउने भएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जबताउनुभयो । उहाँले गोरखापत्र दैनिकले पश्चिम नेपालका लागि कोहलपुर प्रकाशन गरेर सकारात्मक कार्यको थालनी गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
गोरखापत्रमा आधिकारिक सूचनाहरु सबै हुने भएको कारण दुई तीन दिनपछि पढ्नुपर्ने अबस्थाको अन्त्य भएको बताउँदै उहाँले दुर्गम जिल्लामा समयमै पत्रिका पढ्न पाइएको बताउनुभयो । स्थानीय समाचारदाताले फेसबुकमा पोष्ट गरेको समाचार पढ्नु पर्ने अबस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।
बिहान ७.०० बजे नेपालगंजबाट हवाई जहाजमा आएको गोरखापत्र ८.०० बजे ग्राहकका हातहातमा पुग्ने गरेको बितरक लोग भण्डारीले बताउनुभयो । अरु बेला दुई दिनपछि आउने गरेकामा फागुन १ गतेदेखि बिहान सबेरै ग्राहकको हातमा पत्रिका पु¥याउन सफल भएको उहाँको भनाइ छ कोहलपुर संस्करणको प्रकाशन पछि पहिलो दिन तारा एयरमा पत्रिका हुम्ला पुगेको हो ।