logo
२०८१ मंसिर १० सोमवार



जीर्ण बन्दै राणाकालिन दरबार

प्रदेश |


जीर्ण बन्दै राणाकालिन दरबार


डिलबहादुर सिंह

डोटी फागुन ४ गते । ‘मल्लोढोका’ नामले चिनिने डोटीको सिलगढीमा रहेको राणाकालिन दरबार सँरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । राणाकालिन गौणा रहेको समयमा लामो समयसम्म बडाहाकिमको निवासको रुपमा प्रयोग भएको थियो ।

डोटीको दिपायल सिलगढी नगरपालिका– ६ नाचन्थलीमा रहेको सो दरवार राणाकालमा वडाहाकिमको निवासको रुपमा प्रयोग हुदै आएकोमा राणा शासन पछिका धेरै बर्षसम्म जिल्ला पञ्चायत लगायतका विभिन्न सरकारी कार्यालयले प्रयोग गर्दै आएका थिए ।

बहादुर शम्शेर बडाहाकिम रहेको समयमा सिलिगढीकै एक जना ब्यक्तिलाई बिक्रि सो दरवार बिक्रि गरे पश्चात दरवारको संरक्षणमा सरकारी र ब्यक्तिगत कुनै पनि निकायवाट ध्यान जान सकेन । तत्कालिन वडा हाकिम बहादुर शम्शेरवाट सिलगढीका स्थानीय वासिन्दा सुरतबहादुर अमात्यले सो दरवार खरिद गर्नु भएको थियो ।

स्थानीय जानकार सिद्धराज श्रेष्ठका अनुसार दरवार र दरबार वरिपरी रहेको ४६ रोपनी जग्गा त्यतीबेलाको १० हजार रुपियाँमा खरिद गरिएको भन्ने सुन्नमा आए पनि कुन बर्ष एकिन कति रुपैयाँमा खरिद गरिएको हो भन्ने तथ्य भने कसै सँग पनि छैन ।

विक्रम सम्वत १९९० ताका डोटीमा गौणा रहेको यहाँका बुढापाका बताउनुहुन्छ । दरवारमा ४० वटा कोठाहरुका रहेका छन् । दरवारको वरिपरी सुसारे निवास, मनोरञ्जन घर, पुजा घर, कोत गार्ड समेत रहेकोमा हाल ति घरहरुका भग्नावशेष मात्र बाँकी रहेका छन् ।

हाल आएर सो दरवारलाई सरकारी स्तरबाट विभिन्न प्रयोजनका लागि पटक पटक खरिद गर्ने प्रयास गरिएको भए पनि खरिद गर्ने कार्य सफल हुन सकने । पछिल्लो पटक डोटी क्याम्पसमा कृषि विषय अध्यायन कार्य सञ्चालनका लागि दिपायल सिलगढी नगरपालिकाले सो दरवार र आसपासको जग्गा खरिदका लागि प्रयास गरिएको भए पनि कुरा मिल्न सकेन ।

दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले भन्नुभयो,–राणाकालिन ऐतिहासिक दरवार हो, पर्यटकिय हिसावले पनि राम्रो हुने र शैक्षिक विकासमा पनि प्रयोग गर्न सकिने भनेर किन्ने प्रयास गरिएको हो मुल्य बढी नै भएका कारण पनि किन्न सकिएन ।

यस अघि नै दिपायलमा रहेको सेती प्राविधिक शिक्षालय स्थापनाका लागि समेत सो दरवारको चर्चा भएकोमा सफल हुन सकेन ।

सिलिगढी बजारको माथिल्लो भागमा रहेको दरबारको जिर्णोद्धार गरेर प्रयोगमा ल्याउन सके यस क्षेत्रको ऐतिहासिक धरोहरका साथै पर्यटकलाई आकर्षण गर्नमा पनि सहज हुने स्थानीय वासिन्दाको भनाई रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?