छवि पाण्डे
बुटवल, फागुन ७ गते । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीलाई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले संघीय शासन प्रणालीलाई नागरिकको जीवन पद्धतिका रुपमा स्थापित गर्न सकेमात्रै आम नागरिकले लोकतन्त्रको अनुभूति गर्न पाउने उल्लेख गर्नुभएको छ ।
नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनका लागि प्रदेश सरकारदृढ संकल्पित रहेको पनि मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ ।
प्रदेश सरकार समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य बोकेर समृद्धिको अभियानमा अघि बढिरहेको बताउँदै उहाँले संघीय सरकारले पनि सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको अवस्थामा प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदान दिन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले प्रजातन्त्र दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघसंस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा अपिल समेत गर्नुभएको छ ।