logo
२०८१ मंसिर १४ शुक्रवार



क्रसरले बस्ती जोखिममा

प्रदेश |


क्रसरले बस्ती जोखिममा


खलङ्गा समाचारदाता

खलङ्गा, फागुन ९ गते । बस्तीलाई जोखिममा पारेर जाजरकोटको स्याउलीमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन गरिएको छ । जिल्लाको भेरी नगरपालिका–७, स्याउलीमा ठेकेदारले आफूखुसी क्रसर उद्योग सञ्चालन गरेको पाइएको हो ।
भेरी नगरपालिकाभित्र विभिन्न आयोजनाको काम गर्ने नाममा स्थानीय तह प्रशासनको जानकारीबिना उद्योग सञ्चालन गरिएको हो । पुष्पलाल मध्यपहाडी लोकमार्ग नजिकै क्रसर उद्योग खोलिएको छ । जगतीपुरदेखि कार्की गाउँसम्म १८ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको शर्मा सिंह एन्ड ब्रदर जेभी काठमाडौँले आफूखुसी क्रसर उद्योग सञ्चालन गर्दै आएको स्थानीयको आरोप छ । बर्सेनि स्याउली खोलाको चपेटामा परेका स्थानीयवासी क्रसर उद्योगले बस्ती नै जोखिममा पर्ने अवस्था आएको हरिश नेपालीले बताउनुभयो ।
खोलामा क्रसर उद्योग सञ्चालन गर्दा बाढीपहिरोको जोखिम बढ्ने उहाँको चिन्ता छ । उहाँले भन्नुभयो, हामी बर्सेनि बाढीपहिरोको चपेटामा परिरहेका छौँ । ठेकेदारले आफूखुसी काम सुरु गरी जथाभावी उद्योग सञ्चालन गरेको छ । जथाभावी उत्खनन गर्नाले बस्ती, वनजङ्गल जोखिममा परेको स्थानीयवासीको आरोप छ । मानव बस्ती र वन क्षेत्रभन्दा करिब दुई÷तीन किलोमिटर टाढा सञ्चालन गर्नुपर्छ तर त्यसको ठीकविपरीत क्रसर उद्योग बस्तीको छेवैमा सञ्चालन गरिएको छ ।
ठाडो खोला त्यसैमा पनि आफूखुसी गिट्टी बालुवा, सङ्कलनले सिङ्गो स्याउली बजार बाढीपहिरोको जोखिममा रहेको स्थानीयवासीको गुनासो छ तर राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गको कामका लागि उद्योग सञ्चालन गर्दै आएको निर्माण व्यवसायी विश्वास उप्रेतीको भनाइ छ । वर्षांैदेखि खोलाले जग्गा कटान गर्दै आएको रहेछ, उहाँले भन्नुभयो, केही स्थानीयवासीले क्रसर उद्योग सञ्चालन गर्दा जग्गा कटान रोकिने भनेपछि उद्योग सञ्चालन गरेको दाबी छ । उहाँले पानीको बाँध मिलाउन सके बस्ती बँच्ने आकलनले क्रसर सञ्चालन गरेको दाबी गर्नुभयो ।
भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकासँग निर्माण कम्पनीले कुनै समन्वय नगरेको बताउनुभयो । स्याउलीमा सञ्चालनमा रहेको क्रसर उद्योगबारेमा अहिलेसम्म नगरपालिकामा कुनै जानकारी नआएको उहाँको भनाइ छ । सञ्चालनमा रहेको उद्योग कानुनभन्दा बाहिर रहेर काम गरिरहेकाले त्यसको लागि नगरपालिकाले कारबाही प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्योग सञ्चालन गर्दा मापदण्डविपरीत काम गरेको भए अनुगमन गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । उद्योगविरुद्ध कुनै गुनासो नआएको भन्दै प्रजिअ पन्तले तत्काल अनुगमन गरी कारबाही गर्ने जनाउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?