नगेन्द्रकुमार कर्ण
जलेश्वर, फागुन १८ गते । सरकारले अतिक्रमित जग्गा खाली गराउने अभियान अन्तर्गत महोत्तरी जिल्लाको गौशालामा रहेको ३० घरमा आइतबार डोजर चलाइएको छ । गौशाला नगरपालिका वडानं. ५मा रहेको निगौल गाई गौशालाको १५ कठ्ठाभन्दा बढी जग्गा अतिक्रमणमा परेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिब निवारणमन्त्री पदमा अर्यालले सुकुम्बासी भन्दा हुकुमबासीहरुले जग्गा कब्जा गरेको कारणले जग्गा फिर्ता ल्याउन डोजर चलाइएको बताउनुभयो ।
पटक पटक गाई गौशालाले जग्गा खाली गराउन अल्टिमेटम दिदै आएपनि जग्गा खाली नभएपछि मन्त्री आफै आएर जग्गा खाली गराइएको जनाइएको छ । पछिल्लो पटकको अल्टिमेटम फागुन १२ गते नै सकिए पनि बस्ती खाली गरिएको थिएन । शनिबारसम्म निगौल गाई गौशालाको अधिनमा रहेको जग्गालाई अतिक्रमण गरी बनाइएको ३० घरलाई हटाइएको छ । जग्गामा वर्षौंदेखि घर तथा पसलहरु बनाइएका थिए । काठमाडौंमा हेलिकप्टरमा बर्दिबास र त्यहाँबाट गाडीबाट गौशाला पुग्नुभएका मन्त्री अर्यालले देशभरी नै जग्गा अतिक्रमणमा परेको बताउनुहुँदै अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियान अन्तर्गत यो कदम चालिएको बताउनुभयो ।
उहाँले बजारमा पनि घर हुनेहरुले सुकुम्बासीको बहाना बनाएको बताउनुहँुदै वास्तविक सुकुम्बासीको व्यवस्था स्थानीय तहमार्फत् गरिने जानकारी समेत दिनुभयो । उहाँहरुलाई बासको व्यवस्था स्थानीयतहबाट हुन्छ उहाँको भनाइ थियो ।
जग्गा खाली गराउन मन्त्री आफंै आउने भएपछि सो क्षेत्रमा आज खाना पनि बनाइएको थिएन भने कतिपय घरमा रुवावासी समेत चलेको थियो । स्थानीय युवा दीनेश महतोले कतिपयले गाई गौशालाका कर्मचारीहरुलाई रकम दिएर जग्गा खरिद गरेको बताउनुहँुदै कर्मचारीमाथि पनि छानविन हुने बताउनुभयो ।
१९८३ मा दरभंगा महराजले पन्ध्र सय गाई संरक्षण गर्नको लागि दुई सय विगहा चरणक्षेत्र छुटयाएर निगौल गाई गौशाला स्थापना गर्नुभएको थियो ।