logo
२०८१ मंसिर १० सोमवार



‘सिनो हाइड्रो’ मा कोरोना उच्च सतर्कता, कोही कामदार बिरामी छैनन् 

प्रदेश |


‘सिनो हाइड्रो’ मा कोरोना उच्च सतर्कता, कोही कामदार बिरामी छैनन् 


बेलिना थापा

लमजुङ, फागुन २० गते । चीनमा कोरोना भाइरस (कोभिड–१९)संक्रमण फैलिएपछि नेपालस्थित चिनियाँ कम्पनी तथा आयोजनामा उच्च सतर्कता अपनाइएको छ ।

लमजुङको मस्र्याङदी गाउँपालिका ७ र ८ भुलभुले क्षेत्रमा निर्माण गरिएको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत आयोजनामा उच्च सतर्कता अपनाइएको हो । सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिडेद्वारा ३ बर्षअघि निर्मित आयोजनाको विद्युतगृह, बाँध क्षेत्र, साइट अफिसमा बाहिरी व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।

गेटबाट भित्र छिर्दा अनिवार्य सबैको तापक्रम नाप्ने गरिएको छ । ९८ दशमलव ६ डिग्री तापक्रमभन्दा बढी भएमा भित्र प्रवेश गर्न नदिने र तुरुन्त अस्पताल पठाउने व्यवस्था गरिएको प्रोडक्सन तथा टेक्नोलोजि म्यानेजर लि काउयुआनले बताउनुभयो । उहाँका अनुसार सबै कर्मचारी माक्स लगाएर काम गरेका छन् । आयोजनामा ३९ जना चिनियाँ र १०० बढी नेपाली कर्मचारी छन् ।

यस्तै, काठमाडौंस्थित कार्यालयमा ७ जना चिनियाँ र १५ जना नेपाली कर्मचारी छन् । उनीहरु पनि उच्च सतर्कताका साथ काम गरिरहेको उहाँले बताउनुभयो । काठमाडौंका कर्मचारीलाई ठमेल साथै भीडभाडमा जान रोक लगाइएको छ । लमजुङका कर्मचारीलाई विशेष काम बाहेक बेंसीसहरसम्म पनि जान रोक लगाइएको आयोजनाका दोभाषे दयाराम दाहालले बताउनुभयो । उहाँका अनुसार कर्मचारीहरुलाई विदामा नजान भनिएको छ । पारिवारिक मिलन र विदाको लागि घर फर्कने कार्यक्रम रद्द गर्न प्रबन्ध निर्देशकले निर्देशन दिएको उहाँले बताउनुभयो ।

कम्पनीमा कार्यरत मध्ये ११ जना चिनियाँ नागरिक डिसेम्बर अन्तिम साता नयाँ बर्ष मनाउन चीन गएका थिए । उनीहरु उतै रोकिएका छन् । रोकिएका मध्ये आयोजनाका प्रशासन म्यानेजर स्योङ छ्याङ समेत हुनुहुन्छ । कम्पनीका प्रबन्ध निर्देशक यान हुङवेले काठमाडौंमा जनवरी ३० तारिखमा विशेष बैठक राखेर कर्मचारीलाई कोरोनाबाट जोगिन निर्देशन दिँदै चीन गएकोमा श्रीमति सहित फर्किनुभएको छ । फर्केपछि १४ दिन काठमाडौंस्थित कार्यालयमा क्वारेन्टाइन बसेर आयोजान स्थल आउनुभएको छ ।

उहाँ स्वस्थ रहनुभएको आयोजनाले जनाएको छ । उहाँ सचुवान प्रान्तको छयङ्तु शहर गएर फर्किएको तर, कोरोना उद्मस्थल हुबेई प्रान्त भने नगएको आयोजनाले जनाएको छ । चिनियाँ कामदार बिरामी भएको, मृत्यु भएको भनेर निराधार हल्ला चलेकोप्रति सिनो हाइड्रो–सगरमाथा पावर कम्पनीले दुःख व्यक्त गरेको छ । कम्पनीले कोही चिनियाँ कामदार बिरामी नरहेको र मृत्यु पनि नभएको बताएको छ ।

आयोजनाले कोरोनाबाट जोगिन एन ९५ मास्क १ हजार ५ सय २९, केएन ९५ माक्स ४७, साधारण माक्स ५ हजार ३ सय ९८, लिक्विड २ सय ३४ बोत्तल, स्प्रिट ३ सय २२, हातधुने स्यानिटाइजर १ सय १२, थर्मोमिटर ६६ वटा, निधारमा ज्वरो नाप्ने थर्मोमिटर ५ वटा ल्याएर प्रयोग गर्न थालिएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो ।

कम्पनीमा चेकजाँचका क्रममा कर्मचारीमा ज्वरो आउने, थकान महसुस हुने, सुख्खा खोकी लाग्ने भएमा स्वास्थ्य संस्थामा पठाउने व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?