logo
२०८१ मंसिर १४ शुक्रवार



एमबीबीएस अध्यापनका लागि पूर्वाधार तयार

प्रदेश |


एमबीबीएस अध्यापनका लागि पूर्वाधार तयार


जुम्ला समाचारदाता

खलङ्गा, फागुन २४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एमबीबीएस अध्ययनका लागि तयारी अन्तिम चरणमा पु¥याएको छ । एमबीबीएस तहको पठनपाठनको तयारीका लागि आवश्यक पूर्वाधारको काम धमाधम निर्माण भइरहेको प्रतिष्ठानले जनाएको हो ।
शिक्षण अस्पतालमा चिकित्साशास्त्र अध्ययन तयारीको आवश्यक जनशक्ति, प्रयोगात्मक प्रविधि र विशेषज्ञसहितको तयारी भइरहेको सरोकारवालालाई जानकारी दिइएको छ । प्रतिष्ठानले चिकित्सक तयारीको पूर्वाधारमा अब्बल भएको दाबी गर्दै एमबीबीएस पढाइका लागि पहल गर्न सरोकारवाला निकायलाई अनुरोधसमेत गरेको छ ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले यहाँको एनाटोमी कक्ष, आईसीयू, एनआईसीयू कक्ष, इमरजन्सीदेखि विभिन्न वार्डको स्तरवृद्धि, जनशक्ति आपूर्ति गर्ने काम भइरहेको बताउनुभयो । उहाँले यसबारे प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय प्रशासनसहित सरोकारवाला निकायलाई अवलोकन गराएर जानकारी दिनुभएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष थापा, चिकित्साशास्त्र अध्यापनका लागि आवश्यक पूर्वाधार तयार गर्न प्रतिष्ठानमा पुग्नुभएका प्रा.डा. रामप्रसाद उप्रेतीसहितका चिकित्सकको टोलीले प्रतिष्ठानले विद्यार्थीको प्रयोगात्मकका लागि आवश्यक एनाटोमी प्रयोगशाला, इमरजन्सी कक्ष, जनरल वार्ड सबै स्तरवृद्धि भएकाले पूर्वाधार लगभग अन्तिम अवस्थामा पुगेको बताएको छ ।
अहिले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, आधुनिक मेडिकल सामग्री तयार भएको छ । प्रा.डा. उप्रेतीले प्रतिष्ठानमा सक्कल मानिसका शरीरसहितका आवश्यकता अनुसारका अङ्गसमेत कानुनी रूपमा विद्यार्थीको अभ्यासका लागि भिœयाइएको जानकारी दिनुभयो ।
प्रतिष्ठानले आवश्यक पूर्वाधार तयार भएको भन्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश श्रेष्ठसहित सरोकारवालाले पूर्वाधार सामग्री तथा स्तरवृद्धि भइरहेका विशेषज्ञ सेवाको अनुगमन पनि गर्नुभएको छ । कानुनमन्त्री भण्डारीले सरकारले एमबीबीएस तहको पठनपाठनलाई द्रुत गतिमा अगाडि बढाउन निरन्तर पहल भइरहेको बताउनुभयो ।
प्रतिष्ठानमा अक्सिजन प्लान्ट, ब्लड बैङ्क, एक्स–रे, आईसीयू कक्ष, एनआईसीयू कक्ष, सिटी स्क्यान, प्रयोगशालाले सेवा दिइरहेको छ । प्रतिष्ठानका निर्देशक डा. मङ्गल रावलले यहाँका महिलालाई बच्चा सजिलै जन्माउन नसके शल्यक्रिया गरेर धेरै आमाको ज्यान जोगिने गरेको, कर्णाली प्रदेश र पिछडिएको क्षेत्रमा मोबाइल सेवा र विशेषज्ञ डाक्टरसमेत खटाइने गरिएकोे जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?