बैतडी समाचारदाता
बैतडी, फागुन २६ गते । नेपाल–भारत सीमा नाका झुलाघाटमा कोरोना भाइरस चेकजाँच सहायता कक्षमा स्वास्थ्यकर्मी आठ घण्टा अनुपस्थित हुँदा आइतबार भारतबाट नेपाल आउने ३० जना स्वास्थ्य परीक्षण नगरेरै भित्रिएका छन् ।
कोरोनो भित्रिन नदिन बैतडीमा उच्च सतर्कता अपनाउन प्रशासनले सूचना जारी गरेको भोलिपल्ट सहायता कक्षमा बस्नुपर्ने स्वास्थ्यकर्मी आठ घण्टासम्म अनुपस्थित भएका हुन् ।
झुलाघाट सीमा नाकाबाट आइतबार बिहान ७ बजेदेखि १ बजेसम्म ३० जनाभन्दा बढी नेपाल भित्रिएको झुलाघाट सीमा प्रहरी चौकीले जानकारी दिएको छ । कोरोना जाँच सहायता कक्षमा स्वास्थ्यकर्मी नहुँदा भित्रिने कसैको पनि स्वास्थ्य परीक्षण हुन सकेन । झुलाघाटको नेपाल–भारत सीमा पुल बिहान ७ बजे खुल्छ भने बेलुकी ६ बजे बन्द हुने गरेको छ ।
झुलाघाट सीमा नाकामा कोरोना भाइरस चेकजाँच सहायता कक्षमा दशरथचन्द नगरपालिकाको स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मी खटिएका थिए । सङ्घीयतापछि स्वास्थ्य क्षेत्र तीन तहमा विभाजित भएपछि चेन अफ कमान्ड भत्किएकाले यस्तो समस्या आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख भट्टले यस्तो संवेदनशील विषयमा स्थानीय तहको सरकारले लापरबाही गर्न नहुने बताउनुभयो । उहाँले तोकिएको काममा नजाने स्थानीय तह मातहतका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयले स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार छैन । यो सबै जिम्मेवारी स्थानीय तहको हो भन्नुभयो ।
आइतबार दशरथचन्द नगरपालिकामा सुत्केरी र खोपसम्बन्धी छलफल कार्यक्रम भएकाले पहिलो सिफ्टका स्वास्थ्यकर्मी कोरोना चेकजाँच सहायता कक्षमा अनुपस्थित भएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा संयोजक दुर्गादत्त जोशीले बताउनुभयो ।
दोस्रो सिफ्टमा आइतबार दिउँसो करिब १ः०० बजे झुलाघाट सीमा नाकाको सहायता कक्षमा पुग्नुभएकी स्वास्थ्यकर्मी करिश्मा थापा महताले बिहान कुनै स्वास्थ्यकर्मी नआएको बताउनुभयो । सहायता कक्षमा आइपुगेको आधा घण्टामा भारतबाट नेपाल भित्रिएका सात जनाको स्वास्थ्य परीक्षण भएको थापाले जानकारी दिनुभयो । उहाँले बिहान भित्रिनेको स्वास्थ्य परीक्षण हुन नसकेको बताउनुभयो ।
एक हप्ताअघि स्थापना भएको कोरोनो चेकजाँच सहायता कक्षमा ३८३ जनाको स्वास्थ्य परीक्षण भएको थापाले बताउनुभयो । स्वास्थ्य परीक्षण गरिएकामध्ये १८ जनामा सामान्य रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या भेटिएको उहाँले बताउनुभयो । सामान्य रुघाखोकीका बिरामीलाई सिटामोल दिएर पठाउने गरिएको छ ।
नेपाल–भारत सीमा नाका झुलाघाटको भारततर्फ भने हालसम्म सात हजार मानिसको स्वास्थ्य परीक्षण भएको भारतीय अधिकारीले जानकारी दिएका छन् ।
नेपालतर्फ भने स्वास्थ्यकर्मीको लापरबाहीले कोरोनो चेकजाँच सहायता कक्षमा स्वास्थ्यकर्मी बिहान सीमा गेट खुल्नेबित्तिकै पुग्ने गरेका छैनन् । १० बजेदेखि ५ बजेसम्म मात्रै ड्युटी हो भन्ने मानसिकताका कारण स्वास्थ्यकर्मी समयमै सीमा पुलको गेटमा नपुग्ने समस्या रहेको सर्वसाधारणको गुनासो छ ।
महामारी भित्रिन नदिने कुरामा स्थानीय तहको सरकार मातहत रहेका स्वास्थ्य संस्था संवेदनशील बन्न सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख गुणराज अवस्थीले आग्रह गर्नुभएको छ ।