धनगढी समाचारदाता
धनगढी, फागुन २७ गते । स्थानीय स्तरमा विकासको अभिभारा बोकेको कैलालीको एक वडा कार्यालयले आफैँ पूर्वाधारको अभाव झेलिरहेको छ ।
कैलारी गाउँपालिकाको वडा नम्बर ७ कार्यालयले पूर्वाधार अभावमा समस्या झेलिरहेको हो । उपयुक्त पूर्वाधार नहुँदा सो वडा कार्यालय विगत अढाइ वर्षदेखि एक कोठाको कच्ची घरबाट सञ्चालन भइरहेको छ ।
टिनले छाइएको कच्ची घरमा बस्न र महìवपूर्ण सामग्री राख्नका लागि पर्याप्त ठाउँ नहुँदा समस्या हुने गरेको कर्मचारीको भनाइ छ । “एउटा वडा कार्यालय सञ्चालनका लागि एक कोठा उपयुक्त होइन”, वडा सचिव गणेश चौधरीले भन्नुभयो, “पूर्वाधार नहुँदा हामीलाई धेरै समस्या भइरहेको छ । ”
वडा कार्यालयको महìवपूर्ण कागजात, फाइलसमेत राख्ने ठाउँ नरहेको चौधरीले बताउनुभयो । “छुट्टै कोठा नहुँदा हामीले सबै कागजात र फाइल एकै ठाउँमा गज्याङगुजुङ राख्न बाध्य छौँ”, उहाँले भन्नुभयो, “व्यवस्थित तरिकाले राख्ने ठाउँ नभएकाले कहिलेकाहीँ कागजात खोज्न समस्या हुन्छ । ”
यसैगरी, बैठक कोठा नहुँदा जनप्रतिनिधिको बैठक वा अन्य कार्यक्रम खुला मैदानमा आयोजना गर्ने गरिएको छ । यस्तै, वडा कार्यालयमा सेवाग्राही बस्ने पनि पर्याप्त ठाउँ छैन । एक कोठाको कच्ची घरबाट वडा कार्यालय सञ्चालन हुँदा धेरै नै समस्या झेल्नु परिरहेको वडा सचिव चौधरीले बताउनुभयो ।
“वडा कार्यालयको महìवपूर्ण सामान चोरी हुने पनि डर उत्तिकै छ”, उहाँले भन्नुभयो, “पर्याप्त पूर्वाधार नरहेका कारण हामीले वडा कार्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न धेरै समस्या रहेको छ । ”
स्थानीय सरकार गठन हुनु अगाडि सो झुपडीमा तत्कालीन रतनपुरको गाविस कार्यालय राखिएको थियो । एउटै झुपडीमा सरकारी कार्यालय सञ्चालन भएको झन्डै दशक पुगिसकेको छ । तत्कालीन १० वर्षे द्वन्द्वको क्रममा विस्थापित भएको साबिकको रतनपुर गाविसको कार्यालय मुलुकमा शान्ति पुनर्वहालीपछि गाउँ फर्केको थियो । गाउँ फर्केको गाविसको कार्यालय त्यहीँ एक कोठाको झुपडीबाट सञ्चालन भएको थियो । स्थानीय सरकार गठनपछि भने त्यसमा वडा कार्यालय राखिएको छ । वडा कार्यालयलाई व्यवस्थित गर्ने आफ्नो चाहना हुँदाहुँदै तत्काल कुनै विकल्प नरहेकाले एक कोठामा सीमित राखेको वडाध्यक्ष कमलप्रसाद चौधरीले बताउनुभयो ।
“यस्तो घरमा कार्यालय राख्दा कहिलेकाहीँ सेवाग्राहीले नै जिस्काउने र गुनासो गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “तर, के गर्ने तत्काल वडा कार्यालयको लागि पूर्वाधार नरहेकाले हामी कच्ची घरबाटै सेवा प्रवाह गरिरहेका छौँ । ” कच्ची घरबाट वडा कार्यालय सञ्चालन गर्नुपर्दा आफूलाई समस्या भने नरहेको वडाध्यक्ष चौधरी बताउनुहुन्छ । “झुपडीबाट जनताको काम गर्दा मलाई समस्या छैन”, उहाँले भन्नुभयो, “तर, व्यवस्थित तरिकाले सेवा प्रवाह गर्नका लागि वडा कार्यालयको पूर्वाधार सोही अनुसार हुनुपर्छ भन्ने मेरो पनि बुझाइ हो । ”
यद्यपि, घरको भित्ता कच्ची रहेका कारण सरकारी सम्पत्ति चोरी हुने डर भने रहेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।
तत्कालीन रतनपुर गाविसको कार्यालयलाई द्वन्द्वको बेला विद्रोही पक्षले ध्वस्त पारेको थियो । गाविसको कार्यालय गाउँमा फर्केपछि शान्ति पुनर्निर्माण मन्त्रालयको सहयोगमा तत्कालीन जिल्ला विकास समितिमार्फत भवन निर्माण गरिएको छ तर सो भवन निर्माण भए लगत्तै चर्किएको छ । ठेकेदारको लापरबाहीले भवन चर्किएकाले त्यसमा वडा कार्यालय नसारेको अध्यक्ष चौधरीले बताउनुभयो ।
“ठेकेदारले पुनः बनाउँछु भन्ने प्रतिबद्धता जनाएका छन्”, उहाँले भन्नुभयो, “तर, अहिलेसम्म नबनाएकाले हामीले त्यसमा वडा कार्यालय सारेका छैनौँ । ”